Logo

३२ नेपाली नागरिकलाई कोरोना संक्रमण (देशभित्र ५; देशबाहिर २७ संक्रमितमध्ये ३ को मृत्यु)



काठमाडौं, १५ चैत्र । सँसारभर रहेका नेपाली नागरिकमध्ये ३२ जनालाई कोरोना भाइरसको संक्रमण भएको छ । संक्रमितमध्ये तीनजनाको मृत्यु भएको छ । मृतक सबै देश बाहिर बस्दै आएका नेपाली नागरिक हुन् ।

देशभित्र अहिलेसम्म पाँचजना नेपालीलाई कोरोना भाइरसको संक्रमण भएको छ । उनीहरु सबै विदेशबाट नेपाल आएका हुन् । उनीहरुको यात्रा विवरणले देश फर्केको दश दिन नबित्दै संक्रमण भेटिएको छ । देशभित्र संक्रमितमध्ये एकजना निको भइ घरमा छन् भने बाँकी चारजना उपचाररत छन् ।

अष्ट्रेलियामा ८ जना नेपालीलाई संक्रमण भएको जानकारी आएको छ । उनीहरु अध्ययनका सिलसिलामा अष्ट्रेलिया पुगेको खुलेको छ । युरोपेली देश पोर्चुगलमा छ जना नोली संक्रमित छन् । बेलायतमा तीन नेपाली संक्रमित रहेकोमा एकजना उपचारपछि घर फर्किएकी छिन् भने दुईजनाको मृत्यु भएको छ ।

संयुक्त अरब इमिरेट्समा चारजना नेपाली संक्रमित भएको युएईका लागि नेपाली राजदूत कृष्ण प्रसाद ढकालले जानकारी दिएका छन् । संक्रमित दुईजना उपचारपछि स्वस्थ भइसकेका छन् भने हिजो संक्रमित पुष्टि भएका दुईजना उपचाररत छन् ।

कतारमा दुई नेपाली संक्रमित भई उपचाररत छन् । बहराइनमा तीन नेपाली कोरोना भाइरस संक्रमित भएको जानकारी आएको छ ।
अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट एक नेपालीको मृत्यु भएको छ । त्यहाँ संक्रमित भएका नेपाली उपचाररत छन् ।

मृत्यु हुने नेपाली
कोरोना संक्रमणबाट बेलायतमा दुईजना नेपालीको मृत्यु भएको छ । उनीहरुमध्ये लीलबहादुर राई भूतपूर्व गोर्खा सैनिक हुन् । ६६ वर्षीय उनी मृगौला रोगी थिए । चितवन घर भई लण्डनमा बस्दै आएका ४० वर्षीय प्रशान्त अर्यालको पनि कोभिड-१९ संक्रमणबाट निधन भएको छ । अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुने पाँचथर रानीगाउँ घर भएका ५० वर्षीय पुरुष हुन् ।



प्रतिक्रिया दिनुहोस्