काठमाडौं, १५ चैत्र । कोरोना भाइरसकी पाचौं संक्रमित बाग्लुङस्थित घर पुगेको तीन दिनपछि टाउको दुखेर धौलागिरी अस्पताल पुगेको खुलेको छ । अस्पतालमा उनको चेकजाँचका क्रममा सामान्य औषधी दिएर पठाइएको बुझिएको छ । किशोरीले आफू विदेशबाट फर्किएको जानकारी गराएकी थिइनन् ।
दोस्रो संक्रमितसँगै आएकाहरुको नाम लिष्ट सार्वजनिक भएपछि बाग्लुङ नगरपालिकाका पदाधिकारीले किशोरीबारे खोजविन गरेका थिए । उनी घरमै बसेको र स्वास्थ्यमा समस्या रहेको जानकारी पाएपछि घरमै पुगेर स्वाब संकलन गरिएको बुझिएको छ ।
उनको स्वाब परीक्षणका लागि ११ चैत्रमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो । किशोरीलाई कोभिड १९ लागेको खुलेको थियो ।
किशोरी बेल्जियमबाट ४ चैत्रमा फर्किएर काठमाडौं बसेकी थिइन् । कतार एयरवेजको क्युआर ६५२ नम्बरको विमानबाट आएकी उनी ५ चैत्रमा आन्तरिक विमानबाट पोखरा उत्रिएकी र जीप चढेर बाग्लुङ पुगेकी थिइन् । उनको यात्रा विवरण र सम्पर्कमा पुगेका सबै व्यक्तिहरुको खोजी भइरहेको बुझिएको छ ।
सम्पर्कमा पुगेकाहरुलाई क्वारेन्टाइनमा राख्ने देखि टेष्ट गर्ने तयारी समेत गरिएको स्वास्थ्य मन्त्रालयको स्रोतले जानकारी दिएको छ । त्यसका लागि स्थानीय निकाय देखि प्रहरी प्रशासनसम्म समन्वय गरिएको छ ।