Logo

धनगढीका संक्रमित युवाले धेरैलाई भेटेका थिए, खोजी गर्न प्रहरीलाई गाह्रो



कैलाली, चैत १६ । कोरोना भाइरस संक्रमण देखिएका धनगढी–५ का ३४ वर्षीय युवक दुबईदेखि धनगढीसम्मको यात्रामा धेरैजनासँग सम्पर्कमा आएको देखिएको छ। प्रशासन खोजीमा जुटे पनि उनीसँग यात्रा गरेका र सम्पर्क भएका मान्छेको सूची लामो भएकाले खोजी गर्न जटिल भएको छ। सेती प्रादेशिक अस्पतालमा आइसोलेसनमा राखेर ती युवकको उपचार भइरहेको छ।

दुबईमा काम गर्ने कम्पनी बन्द भएपछि उनी चैत ७ मा जहाज चढी दिल्ली आएका थिए। आफूसमेत १९ जना नेपाली दुबईबाट दिल्लीसम्म आएको ती युवकले टेलिफोनमा बताएका छन्। ‘दिल्लीबाट विराटनगरको एकजना साथी र म मार्च २० मा नै काठमाडौं आयौं’, उनले भने। त्यस दिन उनी धापासीस्थित मामाको घरमा बसे। उनको मामाको परिवारमा चारजना छन्। ठूलामामाको छोरासँग उनी त्यही दिन टिकट खोज्न बसपार्क पुगे तर टिकट पाएनन्।

‘चैत ८ गते बिहान मामाको छोराले नै विमानस्थल पु¥याइदियो। सीधै धनगढी जाने प्लेनमा सिट थिएन। बुद्ध एयरलाइन्सबाट नेपालगन्ज आएँ, नेपालगन्ज विमानस्थलबाट कोहलपुरसम्म अटोमा आएँ, कोहलपुरबाट हायसमा अत्तरियासम्म आएँ, अत्तरियाबाट विंगर (जिप) मा धनगढी चौराहासम्म आएँ। चौराहाबाट अटोमा घर आइपुगेको हुँ’, उनले भने।

काठमाडौं पठाउने उपाय नभएपछि संक्रमित युवाका परिवारका सदस्यको समेत नमुना संकलन हुन सकेको छैन।
चैत ८ मा घर आइपुगेपछि पनि उनी सेल्फ क्वारेन्टाइनमा बसेनन्, आफन्त र साथीभाइसँगे भेट्दै हिँडे। हल्का खोकी र ज्वरो आएपछि परिवारको आग्रहमा उनी चैत ११ गते सेती प्रादेशिक अस्पतालमा जाँच गर्न गए। ‘हल्का ज्वरो आएपछि हामीले नै एकपटक डाक्टरलाई जाँच गराइहाल भनेर अस्पताल पठाएका हौं’, उनका बुवाले भने।

उनको यात्रा विवरण हेरेर अस्पतालले उनलाई आइसोलेसनमा राखी उपचार सुरु गरेको हो। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot