Logo

स्वास्थ्यकर्मी र नागरिकको सुरक्षा सरकारको प्राथमिकता : मन्त्री ज्ञवाली



काठमाडौँ, १६ चैत : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोरोना भाइरसको विश्वव्यापी महामारीका घडीमा आवागमनको अधिकारभन्दा आमनागरिकको जीवन महत्वपूर्ण भएकाले जो जहाँ छ त्यही रहनु सर्वोत्तम उपाय हुने बताएका छन् । विश्वव्यापी महामारीको सामना गर्न विश्व व्यवस्था पूर्व तयारीमा नभएकाले यसले शक्तिशाली मुलुकलाई समेत हल्लाएको उल्लेख गर्दै विदेशबाट नेपाल वा नेपालबाट विदेशको यात्रा असुरक्षित हुने हुँदा जोखिम नलिन आग्रह गरे ।

उनले भने, “संक्रमणको समयमा आफ्नो देश फर्कने चाहना हुन सक्ला तर विदेशबाट आएकाहरूबाटै संक्रमणको जोखिम देखिएकाले त्यस्तो जोखिम नेपालले लिन सक्दैन । विदेशमा रहेका नेपाली श्रमिक र विद्यार्थीहरू अहिले जहाँ छन्, त्यहाँ नै सुरक्षित रहनुस् । अत्तालिएर दौडादौड नगर्नुस् । अहिले तपाईँहरूलाई विदेशबाट नेपाल ल्याउन सकिने स्थिति छैन ।”

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका सदस्य मन्त्री ज्ञवालीले श्रम र अध्ययनका लागि विदेश गएका नेपालीको सुरक्षाको स्थितिबारे आफूले नियोग र दूतावासबाट भिडियो कन्फरेन्स र अन्य माध्यमबाट नियमित अद्यावधिक गरिरहेको जनाउँदै त्यहाँका सरकारले पनि नेपालीहरूलाई आफ्ना नागरिक सरह व्यवहार र उपचार गर्ने प्रतिबद्धता गरेको बताए । मन्त्री ज्ञवालीले ती मुलुकबाट श्रम करार सकिएका र प्रवेशाज्ञाको म्याद सकिएका र बढी समय विदेशमा बसिरहेका नेपालीलाई कानूनी अप्ठ्यारो नपर्ने विश्वास पनि दिलाइएको उल्लेख गरे । उनले नेपालमा रहेका विदेशी नागरिकको हकमा पनि स्वास्थ्य सुरक्षा र अन्य आवश्यक व्यवस्था गर्न नेपाल सरकार तत्पर रहेको स्पष्ट गर्नुभयो ।

छिमेकी मुलुक चीनबाट हालै प्राप्त स्वास्थ्य उपकरण र औषधि आवश्यकता र औचित्यका आधारमा तत्काल प्रदेशस्तरमा पु¥याइने र धरानस्थित बिपी कोइराला स्वास्थ्य प्रतिष्ठान, नेपालगञ्ज, पोखरा, धनगढी र हेटौँडामा समेत कोरोना भाइरसको परीक्षणको दायरा विस्तार गरिने पनि मन्त्री ज्ञवालीले जानकारी दिए । छिमेकी भारतबाट पनि आवश्यक उपकरण र औषधिका साथै ‘¥यापिड रेस्पोन्स टिम’ ९द्रुत स्वास्थ्य टोली¬० लगायतको सहयोग प्राप्त हुने आश्वासन पाइएको मन्त्री ज्ञवालीको भनाइ छ ।

उहाँले अहिलेको महामारीसँग लड्न अग्रपङ्क्तिमा रहेका स्वास्थ्यकर्मीलाई उच्च प्राथमिकता दिई तिनलाई प्रोत्साहन र बीमाको व्यवस्था गर्न लागिएको बताउँदै महामारीविरुद्ध जुध्न जिम्मेवार राजनीतिक दल, नागरिक समाज र स्थानीय तहको सहयोग आवश्यक रहेकामा जोड दिए । उनले भने, “स्थानीय तहले आफ्नो क्षमता र औचित्य देखाउने बेला यही हो । हामीले उनीहरूरुबाट त्यही क्षमताको अपेक्षा गरेका छौँ ।”

लकडाउनका समयमा तमासा गर्ने, जानीजानी अवज्ञा गर्ने, विरोधका लागि विरोध गर्ने र झुटा विवरण दिने प्रवृत्ति निरुत्साहन गर्दै यस्तो बेलामा पनि सरकारप्रति आशङ्का गर्ने, अनेकौँ अफवाह फैलाउने र कुण्ठाग्रस्त भई स्वार्थको रोटी सेक्न खोज्नु चिन्ताजनक विषय भएको मन्त्री ज्ञवालीको भनाइ छ ।

लकडाउनको अवधि थपिने सम्बन्धमा सोधिएको प्रश्नको जवाफमा मन्त्री ज्ञवालीले भने, “सरकारलाई त्यस्तो सुझाव प्राप्त भएको छ, जनताले सुझबुझपूर्ण ढंगले संकटका बेला गरेको समर्थनप्रति सरकार आभारी छ ।” File Photo



प्रतिक्रिया दिनुहोस्