Logo

विपन्नलाई पशुपतिमा निःशुल्क भोजन



काठमाडौँ, १६ चैत : कोरोना भाइरसको सङ्क्रमणबाट बच्न छ दिनदेखि गरिएको लकडाउनका कारण पशुपति क्षेत्रमा भोकभोकै बस्ने मानिस भेटिएपछि आजदेखि सुमार्गी भवनमा निःशुल्क भोजन सेवा शुरु भएको छ ।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले आज बिहान मन्दिर क्षेत्र प्रवेश गर्ने क्रममा मानिस भोकभोकै रहेको देखेपछि भोजन सेवा शुरु गरिएको बताए । “आजका लागि मैले र सुनील वैद्यले व्यक्तिगत रुपमा सामग्री जुटाएर भोजनको व्यवस्था गरेका छौँ, लकडाउन लम्बिँदै गए कोषले नै भोजन सेवा दिने विषयमा पनि अन्य पदाधिकारीसँग छलफल चलाएका छौँ”, उनले भने ।

छ दिनदेखिको लकडाउनका कारण विपन्नवर्ग, मजदुरी गरेर जीवनयापन गर्ने, पशुपति क्षेत्रमा आएका भक्तजनका आशमा जीवन निर्बाह गर्नेले भोकभोकै दिन बिताउन थालेका थिए । त्यस्ता व्यक्तिलाई लक्ष्य गरी भोजन सेवा शुरु गरिएको दाता वैद्यले बताए । “पहिलो दिन आज १२० जनाभन्दा बढीले निःशुल्क भोजन गरेका छन्, भोजन गर्न आउनेका लागि साबुन पानीले हात धुने, स्यानिटाइजर लगाउने र दुई व्यक्तिबीचको दूरी तीन फिटभन्दा बढी हुने गरी भोजन गराएका छौँ, लकडाउनभरि यही तरिकाले सेवा दिनेछौँ”, उनले भने ।

पशुपतिनाथका अघि कसैले पनि अनाथ भएको अनुभव गर्नु नपरोस् भनी विपन्न वर्गलाई लक्षित गरी निःशुल्क भोजनको व्यवस्था गरिएको हो । लकडाउनका कारण पशुपति क्षेत्रमा भक्तजनले दिने दानका आधारमा जीवन यापन गर्ने साधुसन्त पनि यसबाट लाभान्वित हुनेछन् ।



प्रतिक्रिया दिनुहोस्