चैत १७, काठमाण्डौ । सरकारले कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न एकपछि अर्को गर्दै विभिन्न निर्णय गरिरहेको छ । प्रधानमन्त्री केपी ओली अस्वस्थ भएकाले पूर्ण रुपमा सक्रिय हुन नसकेका बेला विभिन्न समितिहरु बनिरहेका छन् ।
प्रधानमन्त्रीले सुरुमा उपप्रधान तथा रक्षामन्त्रि ईश्वर पोखरेलको संयोजकत्वमा उच्चस्तरीय समन्वय समिति गठन गरेको थिए । यहि समितिले सरकारकै हैसियतमा विभिन्न निर्णयहरु गर्दै आएको छ ।
कोरोना भाइरस(कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि ‘कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर’ सीसीएमसी’ पनि स्थापना हुने भएको छ ।
ओलीसमेत सहभागी भइ आइतबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले ‘सीसीएमसी’ स्थापना गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्तासमेत रहेका अर्थ एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहने गरी स्थापना गरिने सीसीएमसीमा गृहमन्त्री, अर्थमन्त्री, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री र सुरक्षा निकायका प्रमुख रहने जानकारी दिएका हुन्।
सीसीएमसीले सरकारले जारी गरेको आदेश कार्यान्वयन गराउने, क्वारेन्टाइन र कोरोना संक्रमितको उपचारका लागि तयार पारिएका अस्पतालहरुको व्यवस्थापन गर्ने पनि मन्त्री खतिवडाले जानकारी दिए।