Logo

कोरोनाको चपेटामा एशियाली शेयर बजार



एजेन्सी, १७ चैत्र । कोरोना भाइरसको प्रकोप विश्वव्यापी रुपमा तीव्र रुपमा फैलिएसँगै विश्वको अर्थव्यवस्था प्रभावित भइरहेका बेला यसको चपेटामा एशियाली शेयर बजार पनि परेको छ। योसँगै सोमबार एशियाली शेयर बजारका साथै अन्तराराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा पनि गिरावट देखिएको छ।

विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसले महामारीको रुप लिएसँगै विश्व अर्थव्यवस्थामा मन्दी छाउने डरका कारण लगानीकर्ताहरु शेयर बजारप्रति लगानी गर्न डराइरहेका कारण एशियाली शेयर बजारमा गिरावट देखिएको हो।

सोमबार एसएण्डपी ५०० सूचक १.२ प्रतिशतले घटेको छ। यसैगरी जापानको निक्केई सूचकमा ३.७ प्रतिशत, यूरोस्टोक्स ५० मा ०.६ प्रतिशत र एफटीएसई फ्यूचर्समा १.३ प्रतिशतको गिरावट देखिएको छ।

यसदिन एशिया–प्रशान्त शेयर १.१ प्रतिशतले घटेको छ, जबकि चीनको शांघाई ब्लू चीप १.४ प्रतिशतले घटेको छ।

कोरोना संक्रमितको संख्या बढेसँगै यसको प्रत्यक्ष असर भारतको शेयर बजारमा पनि देखिएको छ। सोमबारको सुरुवाती कारोबारमा सेन्सेक्स ७९० अंक अर्थात् २.६५ प्रतिशतले घटेर २९ हजार ०२६ बिन्दुमा र निफ्टी २३९ अंक अर्थात् २.७६ प्रतिशतले घटेर ८ हजार ४२१ बिन्दुमा झरेको छ।-मेरो लगानीबाट



प्रतिक्रिया दिनुहोस्