काठमाडौँ, १८ चैत । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विदेशबाट हालसम्म आएका ४१ हजार १४० जनालाई क्वारेन्टाइनमा रहन निर्देशन दिएको छ । विभिन्न देशबाट आएकाहरूलाई सातवटै प्रदेश र स्थानीय तहमा बनाइएका क्वारेन्टाइनमा बस्न निर्देशन दिइएको सो मन्त्रालयले जनाएको छ ।
‘‘विदेशबाट आएकामध्ये हालसम्म ४१ हजार १४० जनाको नाम अद्यावधिक गरिएको छ र सबैलाई क्वारेन्टाइनमा रहन निर्देशन दिइएको छ’’, मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले भने, ‘‘विदेशबाट आएकाको ट्रेसिङलाई तीव्र बनाएका छौँ, अद्यावधिक गरिएका जो कोहीलाई पनि लक्षण देखिएमा परीक्षण गर्न सकिन्छ । ’’ उनले काठमाडौँ उपत्यकामा चार र प्रदेशमा ९३ जना बिरामी आइसोलेसनमा रहेको जानकारी दिएका छन् । हालसम्म प्रदेशमा दुई सय जनाको नमुना सङ्कलन भएको जानकारी दिँदै उनले परीक्षणको दायरा बढाइएको र हालसम्म ९९३ जनाको नमुना परीक्षण भएको बताएका छन् । उनका अनुसार थप ७६ जनाको नमुना सङ्कलन भएको छ ।
बीपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरानमा नमुना परीक्षण सुरु गरिएको तीन दिनमा १९ जनाको परीक्षण भएको छ । प्रत्येक प्रदेशमा एक हजार सेट पीपीई, १० हजार मास्क र २० हजार पञ्जा पठाइएको छ । प्रवक्ता देवकोटाका अनुसार प्रत्येक अस्पतालमा कम्तीमा सय सेट पीपीई रहेको छ । यसैगरी, स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले कोरोना नियन्त्रणका लागि काम भइरहेकाले त्रसित नहुन आग्रह गरेका छन् । (गोरखापत्रबाट)