Logo

राष्ट्र बैङ्कले ल्यायो राहत प्याकेज



काठमाडौँ, १८ चैत । पछिल्लो समय कोरोना सङ्क्रमणको जोखिमका कारण उत्पन्न विशिष्ट परिस्थितिलाई मध्यनजर गर्दै नेपाल राष्ट्र बैङ्कले उद्योगी, व्यवसायी तथा व्यक्तिगतलगायतका कर्जालाई राहतस्वरूप विशेष प्याकेज ल्याएको छ ।

राष्ट्र बैङ्कले उद्योगी, व्यवसायीलगायत सबै प्रकारका व्यक्तिगत कर्जालाई राहतस्वरूप सावाँ र ब्याज तिर्ने अवधि बढाएको छ । यस्तो कर्जाको सावाँ ब्याज तथा किस्ता असार मसान्तसम्ममा तिर्न पाउने व्यवस्था गरेको हो । ऋणीले चैतमा किस्ता भुक्तानी गरेमा उसलाई ब्याज रकममा १० प्रतिशत छुटसमेत दिने राष्ट्र बैङ्कले जारी गरेको सर्कुलरमा उल्लेख छ । असारसम्म बैङ्कले हर्जना तथा कुनै किसिमको शुल्क लिन नपाउने व्यवस्था सर्कुलरमा छ ।

यस्तै चैतमा असुल गर्नुपर्ने मासिक तथा त्रैमासिक दुवै खालका किस्ताको ऋण असार मसान्तसम्म भुक्तानी मिलाउन बैङ्क तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो । सो सुविधा क्रेडिट कार्डबाट लिएको ऋणमा समेत लागू हुनेछ भने चैतमा नउठेको ऋणलाई बैङ्कहरूले सूक्ष्म निगरानीमा राख्नुसमेत नपर्ने भएको छ । चैतसम्म कुनै कर्जा नवीकरण नभए पनि त्यसलाई असल ऋणमै गणना गर्नुपर्ने राष्ट्र बैङ्कको निर्देशन छ । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्