चैत १८, काठमाण्डौ । नेपालमा अहिलेसम्म कूल १ हजार ६० जनाको कोरोना भाइरस परीक्षण सम्पन्न भएको छ । तिमध्ये ५ जनामा कोरोना संक्रमण भएको थियो । जसमध्ये एक जना निको भइसकेका छन् भने चार जनाको उपचार भइरहेको छ ।
ति चार जनासँग भेटिएका वा नजिक भएका व्यक्तिहरुको खोजी कार्य जारी राखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोनाबारे पछिल्लो जानकारी दिन गरिने नियमित सन्देशमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले दुई जनाको कन्ट्याक ट्रेसिङ सम्पन्न भएको र पछिल्लो दुई जनाको भने ८० प्रतिशत ट्रेसिङ सकिएको जानकारी दिए । अहिलेसम्म टेकुमा १० जना र प्रदेशमा गरी कूल ८७ जना सम्भावित विरामीलाई आइसोलेसनमा राखिएको देवकोटाले जानकारी दिए ।
सरकारले हरेक प्रदेशमा १३ सयदेखि २५ सयको संख्यामा पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट पिपिइ मौज्दात रहेको जानकारी दिएको छ । कोरोनाको लक्षण देखिएका वा संक्रमण भएकालाई उपचार गर्दा चिकित्सकले प्रयोग गर्ने सबै सामग्री पर्याप्त रहेको पनि प्रवक्ता देवकोटाले बताए ।
कोरोनाको सम्मावित जोखिम कम गर्न सर्वसाधारणका लागि खुला गरिएको कल सेन्टरको उपयोग प्रभावकारी भएको पनि उहाँले दावी गर्नुभयो । पछिल्लो २४ घण्टामा कल सेन्टरमा आएका १८ सय ६ वटा गुनासो सुनुवाई भएको उहाँले जानकारी दिनुभयो । यद्यपी हजारौँ कल आउने भएकाले सबैको गुनासो सुन्न नसकिएको उनले बताए ।
कोरोना परीक्षणका लागि पोखरामा पनि प्रयोगशाला स्थापना भएको छ । त्यसैगरी जनकुपर, धनगढी, बुटवल र सुर्खेतमा मेसिन जाने क्रममा रहेको छ भने धरानमा यसअघि नै परीक्षण सुरु भइसकेको देवकोटाले जानकारी दिए ।
देवकोटाले जोरो आउनासाथ कोरोना भयो भनेर नडराउन आग्रह गरे । त्यसैगरी निजी अस्पताललाई कुनै पनि विरामीको उपचार व्यवस्था राम्रोसँग गर्न पनि उनले आग्रह गरेका छन् ।