Logo

निजी अस्पताल र क्लिनिकमा डाक्टर जाँदैनन्, चेकजाँच स्काइपबाट भन्दै शुल्क लिदै



काठमाडौं, १९ चैत्र । के तपाईं या परिवारका सदस्यलाई स्वास्थ्यमा समस्या भएको छ ? यदि भएको छ भने निजी अस्पताल या क्लिनिकमा फोन सम्पर्क गर्नुहोस् । त्यहाँ चिकित्सक छैनन् भन्ने जवाफ आउँछ ।

रिपोर्टर्स नेपालले राजधानीका केही अस्पताल र क्लिनिकमा सम्पर्क गरेर स्वास्थ्य समस्या परेर जाँचका लागि आउन चाहेको भन्यो । तर, ती अस्पताल र क्लिनिकले डाक्टर नभएको जवाफ दिए । डाक्टर नभए अन्य विकल्पबारे सोध्दा स्काइपबाट चेकजाँच गर्ने जवाफ आयो । त्यसको अडियो रेकर्ड रिपोर्टर्स नेपालसँग सुरक्षित छ । नियमित चेकजाँच गर्दै आएका एकजना व्यक्तिले आफूलाई क्लिनिकमा स्काइपबाट चेकजाँच गर्दा शुल्क लाग्ने जवाफ आएको जानकारी दिए ।

ललितपुरको किस्ट हस्पिटलमा डाक्टरहरुको अभाव छ । कोरोनाको डरले डाक्टरहरु राजीनामा दिएर बसेका छन् । त्यहाँ डाक्टरको अभावले कतिपय विरामी समयमै उपचार नपाएर ज्यान गुमाउन पुगेका छन् । गत हप्ता सानो दुर्घटनामा पुगेका बालकले समयमै उपचार नपाउँदा ज्यान गुमाउन परेको हो । यो घटनाले किस्ट अस्पताल विवादमा परेको छ ।

राजधानीका नाम चलेका निजी अस्पतालले ओपिडी बन्द गरेका छन् । आकस्मिक विरामी पुगेमा डाक्टर बोलाउँछु भन्छन् । तर, कतिपयले स्काइपबाट अस्पताल प्रशासनमा रहेकाहरुसँग बुझेर मात्र उपचार अगाडि बढाउने गरेका छन् ।

नाम चलेका अस्पतालहरुले आकस्मिक सेवा सुचारु राखेको भनेपनि कतिपय विरामीलाई लिन नमानिरहेको अवस्था छ । कोरोना भाइरसको संक्रमणको आशंकित विरामी आउने डरले निजी अस्पतालको गेटमै कडाई गरिएको छ । उनीहरुले टाउको दुखेको, खोकी लागेको र ज्वरो आएको विरामीलाई अस्पताल नछिराउने र आकस्मिक भन्दै छिरेमा तत्काल सरकारी अस्पतालमा रिफर गर्न थालेका छन् ।

निजी अस्पतालहरु नाफामा सिमित हुनेगरेको कोरोना संक्रमणबाट उत्पन्न परिस्थितिबाट प्रष्ट भएको छ । अहिले निजी अस्पतालहरु नाफामुखी मात्र भएको भन्दै सर्वसाधारण आक्रोशित भइरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्