सुवास निराैला \ रबिन पौडेल: कोरोना भाइरसका कारण बैंकहरुमा यतिबेला ठूलै समस्या पर्न सक्ने प्रक्षेपण हुन थालेको छ ।बैंकले कर्जा प्रबाह गरेका साना,झौला र ठूला सबै खाले ऋणीले हालको अबस्थामा सावाँ ब्याज तिर्न सक्दैनन्।
सरकारले समेत उनीहरुको सावाँ व्याज तिर्ने समय पछि धकेल्न भनेको छ । आफ्ना ऋणीलाई दुखमा साथ दिन बैंकहरुले स्व स्फूर्त रुपमै सावाँ व्याज तिर्ने अबधि बढाउने छन् ।बिलम्ब शुल्क लिने छैनन् भने व्याज नै समेत घटाउने मनस्थितिमा बैंक छन् । जसले बैंकको नाफा त घट्ने निश्चित छ । त्यसमा पनि बैक नै धरापमा पर्न सक्ने अनुमान समेत यतिबेला लगाउन थालिएको छ ।
तर यस्तो अबस्थामा नेपाल राष्ट्र बैंक ढुक्क देखिएको छ । केन्द्रिय बैंक मात्रै होइन भर्खरै अवकाश पाएका गभर्नर चिरन्जिवी नेपाल समेत ढुक्कको स्थितिमा छन् । यस्तै बेलाको आंकलन गर्दै पहले नै गरिएका व्यबस्थाले बैकिङ क्षेत्रमा ठूलै समस्या नपर्ने उनको भनाई छ । ‘यस्तै अबस्थाको लागि भनेर पहिले नै केहि व्यबस्था गरिएको छ । जसका कारण बैकिङ क्षेत्रमा ठूलो समस्या पर्दैन’भर्खरै नेपाल राष्ट्र बैंकबाट अबकाश भएका गभर्नर चिरन्जिबी नेपालले भने।
यता लामो समयदेखि अनुसन्धान बिभाग रहेर काम गरिरहेका तथा केन्द्रिय बैंकमा प्रबक्ता डा.गुणाकर भट्ट समेत ढुक्कै देखिएका छन् । उनको भनाइमा कोरोनाको असर असार सम्मै परेपनि बैकिङ् क्षेत्र हल्लिदैंन । ‘आगामी असारसम्म कोरोनाको अन्त्य नभएपनि नेपालका बैंक तथा वित्तीय संस्थाहरु हल्लिदैन्’भट्टले ‘कन्फिडेन्स’का साथ भने।
केहि महिना अघिसम्म बैंक तथा बित्तीय संस्थाले सिसिडि रेसियो घटाउनु पर्ने माग गरिरहेका थिए । तरलता समस्या भएकोले यो रेसियो कम गर्नु पर्ने उनीहरुको माग थियो । क्रेडिट टु कोर क्यापिटल कम डिपोजिट (सिसिडि) कोर-पूंजी-सह-निक्षेपमा ऋण कम गर्दा तरलता बढी हुने उनीहरुको तर्क थियो । सिसिडि सँगै अनिवार्य तरलता अनुपात(सिआरआर) र बैधानिक तरलता अनुपात (एसएलआर) समेत घटाउनु पर्ने उनीहरुको माग थियो ।
तर केन्द्रिय बैकले ती व्यवस्थामा लिएको अडानले यतिबेला काम गर्ने बताइएको छ । जसलाइ पहिले घटाइएको भए यतिबेला निजी बैकहरुको अबस्था निकै नाजुक हुने केन्द्रिय बैकको भनाइ छ।
यस अघि आफुसंग भएको नगदको चार प्रतिशत रकम अनिबार्य मौजाद (सिआरआर) राख्नु पर्ने प्राबधान थियो भने बैधानिक तरलता अनुपात “क”वर्गका बैंकले कुल स्वदेशी निक्षेपको १० प्रतिशत, “ख”वर्गका विकास बैंकले ८ प्रतिशत र “ग”वर्गका वित्तकम्पनीले ७ प्रतिशत वैधानिक तरलता अनुपात कायम गर्नुपर्ने व्यवस्था छ।सिसिडि रेसियो ८० प्रतिशत भन्दा कम हुनु पर्छ ।
बैधानिक तरलतामा बैंक तथा वित्तीय संस्थाहरुले नेपाल सरकारको सुरक्षण पत्रमा गरेको लगानी,अनिवार्य मौज्दात प्रयोजनकालागि नेपाल राष्ट्र बैंकमा राखिएको रकम, आफ्नो ढुकुटीमा रहेको नगद मौज्दात, अन्तर्राष्ट्रिय वित्तीय संस्थाद्वारा नेपाली मुद्रामा जारी भएको ऋणपत्रमा गरिएको लगानी, खुलाबजार कारोवार अन्तर्गत इजाजत पत्र प्राप्त संस्थाबाट बैंकले संकलन गरेको निक्षेप जस्ता उपकरणहरुलाई मानिन्छ। जसलाइ केन्द्रिय बैंकमा अनिवर्य राख्नु पर्छ ।यतिबेला चार खर्ब जति यस्तो सम्पत्ती बैकहरुसंग रहेको भट्टले बताए। यसको व्याज समेत बैकहरुले पाउछन् भने सिआरआरमा राखिएको नगद चालु खातामा हुन्छ जसको व्याज बैंकले पाउदैनन् । तर पनि यो अनिबार्य राख्नु पर्छ ।
गत चैत १६ गते केन्द्रिय बैंकले बैंक तथा वित्तीय संस्थालाई दिएको निर्देशनमा अनिवार्य नगद मौज्दात ३ प्रतिशत कायम गरे हुने व्यवस्था गरेको छ। यस अघि अनिवार्य नगद मैज्दात ४ प्रतिशत कायम गर्नुपर्ने व्यवस्था रहेकोमा कोरोनाको माहामारीका कारण ब्यवसायीहरु ऋणको सावाँ र ब्याज तिर्न नसक्ने अवस्थामा पुगेकाले बैंकहरुमा तरलता समस्या नहोस भनेर अनिवार्य नगद अनुपात १ प्रतिशत घटाएको हो। माघ मसान्त सम्ममा बैंक तथा वित्तय संस्थाहरुको कुल निक्षेप ३५ खर्ब ६५ अर्ब रुपैयाँ रहेकोमा सो निक्षेपको ४ प्रतिशत अर्थात १ खर्ब ४२ करोड रुपैयाँ बराबरको अनिवार्य नगद मैज्दात नेपाल राष्ट्र बैंकमा रहेको थियो। त्यसमा ३ प्रतिशतमात्र रकम राख्नु पर्ने भएपछि बैंकहरुले १ प्रतिशत बराबरको ३५ अर्ब ६५ करोड रुपैयाँ वित्त बजारमा परिचालन गर्न सक्नेछन्। वाणिज्य बैंहरुको मात्रै सीआरआर १ प्रतिशत घटाउदा ३० अर्ब ६८ करोड रुपैयाँ बराबरको तरलता थपिएको छ।
अझै पुनर्कर्जाको सीमा ५० अर्बबाट बढाएर ६० अर्ब बनाउने ब्यवस्था राष्ट्र बैंकले गरेको छ। यसले गर्दा तत्कालकालागि बैंकहरूमा तरलता समस्या आउदैन्। राष्ट्र बैंकको नयाँ निर्देशनले बैंकिङ प्रणलीमा ६० देखि ७० अर्ब रुपैयाँको तरलता थपिएको भट्टले बताए। यसले त्तकालको समस्या हल गरिदिएको भट्टको दाबी छ। अझै केन्द्रिय बैंकले बैधानिक तरलता अनुपात, सीसीडी रेशियो चलाउदै नचलाएको भट्टले बताए ।
राष्ट्रबैंकले यतिबेला काम चलाउ अस्त्र मात्रै चलाएको छ । प्रमुख अस्त्रहरु त छुदै नछोएको भट्टले सुनाए। यी अस्त्र पहिलेनै कम गरेको भए यतिबेला बैंकको अबस्था निकै खराब हुने थियो भन्ने उनको भनाइ छ । कोरोना भाइरसको असर कहिले अन्त्य हुन्छ भन्ने यकिन नहुँदा केन्द्रिय बैंकले सबै बाटो नखोलेर केहि सूचकहरु मात्र घटाएको भट्टले बताए। केन्द्रिय बैंकले काउन्टर साइकलिङ बफरलाई पनि तत्कालको लागि स्थगित गरेको छ। जसले गर्दा थोरै पूँजी भएका बैंकहरुलाई व्यवसाय विस्तारमा सहयोग पुग्ने छ।
अहिले बैंकहरुले सीसीडि रेशियो ८० प्रतिशतभन्दा बढी बनाउन पाँउदैनन्। तर राष्ट्र बैंकको तथ्याङ्क अनुसार माघ अन्तिम सम्ममा बैंकहरुको सीसीडि रेशियो ७७ प्रतिशतमात्रै रहेको छ। यसको मतलब प्रति १०० रुपैयाँ निक्षेपको ७७ रुपैयाँमात्र ऋणमा लगानी गर्ने गरेका छन्। बाँकी रकम भने सिआरआर र एसएलआरमा राख्न पाउने छन्। जसले गर्दा बैंहरुमा अहिलेनै सिसिडी टाइट हुने अवस्था समेत छैन। राष्ट्र बैंकले सीसीडी रेशियोलाई केहि प्रतिशत मात्रै बढाउने हो भने पनि बैंक तथा वित्तीय संस्थालाई थप कर्जा प्रवाहमा सहज हुने भट्टले बताए।
केन्द्रिय बैंकले बैधानिक तरलता अनुपातलाई केहि प्रतिशत घटाएर सो रकम बजारमा ल्याउने हो भने बैंक तथा वित्तीय संस्थामा तरलता अझै बढ्ने छ। अहिले सबै बैंक तथा वित्तीय संस्थाहरुले नेपाल राष्ट्र बैंकले तोके अनुसारकै सूचकहरु कायम गरेको अवस्थामा कतिपय सूचकहरुमा थोरै लचकता अपनाउदा पनि प्रणलीमा तरलता बढ्ने तर बैंक तथा वित्तीय संस्थाहरुलाई असर नपर्ने हुदा अझै केहि महिना कोरोनाको असर देखिएपनि बैंकिङ क्षेत्र समस्यामा नपर्नेमा राष्ट्र बैंक कन्फिडेन्ट देखिएको हो।
यसअघि नेपाल राष्ट बैंकले ल्याएको उक्त नीतिहरुमा बैंकरहरु सन्तुष्ट देखिदैन्थे। सो नीतिलाई परिवर्तन गर्न लविङ समेत गरेका थिए। तर अहिले सोहि नीतिका कारण संकटको बेलामा समेत बैंकहरुमा कुनै असर नपर्ने देखिएको राष्ट्र बैकले जनाएको छ। अहिले बैंकहरुको अनिवार्य नगद अनुपात तथा बैधानिक तरलता अनुपातलाई कम गरेर सीसीडि रेशियोलाई ८० प्रतिशतभन्दा धेरै बनाउन दिएको भए सानो संकट आउदा पनि बैंकहरु समस्यामा पर्ने थिए। फेरि एक फटक राष्ट्र बैकको अडान सार्थक भएको केन्द्रिय बैकको बुझाइ छ।
यस अघि पूँजी बृद्धिको योजना ल्याउदा समेत केन्द्रिय बैंककाे निकै समय आलोचना भएको थियो। तर अहले त्यहि नीतिका कारण वाणिज्य बैंकहरू बलिया भएका छन्। केन्द्रिय बैकले लिएको कुनै पनि नीतिले बैंकहरूलाइ फरक नपार्ने भट्टकाे दाबी छ।-मेरो लगानीबाट