तिलोत्तमा, १९ चैत । सुनौली नाकामा अलपत्र परेकी १० दिनकी सुत्केरीको रुपन्देहीको तिलोत्तमा नगरपालिकाको पहलमा उद्दार गरिएको छ ।
दुवै देशमा लकडाउन भएपछि रुपन्देहीको मंगलापुरकी लक्ष्मी दर्जी भारतबाट स्वदेश फर्कने क्रममा सीमानाकामा अलपत्र परेकी थिइन् ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माहादेव पन्थसँगको समन्वयमा सुत्केरी महिलाको उद्दार गरिएको नगरप्रमुख घिमिरेले बताए । उद्दारका लागि नगरप्रमुख घिमिरेसहित तिलोत्तमा नगरपालिकाको टोली अपरान्ह ४ बजे बेलहिया पुगेको थियो । यसका लागि प्रमुख जिल्ला अधिकारी पन्थले भारतीय सुरक्षा अधिकारीहरुसँग नेपाल ल्याउने बारेमा समन्वय गरेका थिए ।
सुत्केरीको समयमा उद्दार हुन नसकेपछि विभिन्न क्षेत्रबाट आलोचना समेत भएको थियो । अन्य नेपालीसँगै आफ्नो देश फर्किएकी लक्ष्मीलाई पनि सुरक्षाकर्मीले सीमा कटेर आउन नदिएकाले दुई दिनसम्म अलपत्र परेकी हुन् ।
लक्ष्मी भारतको गाजीयावादबाट पैदल र बस यात्रा गर्दै सुनौलीसम्म आइपुगेकी हुन् । उनी दुईदिन भारतीय बजार सुनौलीको सडक पेटीमै सुतेकी थिइन् । सोमबारदेखि बेलहिया समाज र स्थानीयले उनको अवस्था देखेर खानाको प्रबन्ध गरेका थिए ।
दुई र तीन वर्षे अन्य दुई छोरीसहित श्रीमान् मनोजको पनि उद्दार भएको छ । तिलोत्तमा नगरपालिकाले लक्ष्मीको परिवारलाई उद्दार गरी एम्बुलेन्समा राखेर शंकरनगरस्थित दुर्गादत्त माविको क्वारेन्टाइनमा ल्याएको छ । अव परिवारका पाँचैजनालाई १४ दिन क्वारेन्टाइनमा राखेर घर पठाइने प्रमुख जिल्ला अधिकारी पन्थले बताए ।
तिलोत्तमा नगरपालिकाका प्रमुख घिमिरेले सुत्केरीको अवस्था देखेर आफूलाई निकै दया लागेको बताए । “सुत्केरी अलपत्र परेको खवर सुन्नासाथ म धेरै चिन्तित भएँ, समयमै उद्दार गर्नुपर्छ भन्ने लाग्यो र प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरें र उद्दारको काम सफल भयो”–उनले भने ।
लक्ष्मीको परिवार बसको फलामे सिटमा कोचीएर शनिबार साँझ सुनौली नाका आइपुगेका थिए । सुनौली नाकाबाट करीब १५ किलोमिटरमा उनको घर छ । तर, कोरोना संक्रमण हुने भन्दै नेपाली सुरक्षाकर्मीले घर जान दिएका थिएनन् । हिन्दु परम्पराअनुसार बुधबार छोरीको न्वारान गर्नुपर्नेमा त्यो सपना जस्तै भएको उद्दारपछि लक्ष्मीले बताइन् ।-खबरपात्रोबाट