Logo

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य वृद्धि



एजेन्सी, २१ चैत्र । तेल उत्पादक देशहरुले उत्पादन घटाउनेबारे छलफल गर्ने सूचना आएलगत्तै विश्वभर कच्चा तेलको मूल्य बढेको छ । सोमबार तेल उत्पादक राष्ट्रहरुको समूह ओपेकको बैठक बस्ने तय हुँदा मूल्य बढेको हो ।

तेलको मूल्य २५ प्रतिशतले वृद्धि भई कच्चा तेलको मूल्य प्रतिब्यारल ३० डलर माथि पुगेको छ । यसअघि २० डलरभन्दा तल झरेको मूल्य वृद्धिको मुख्य कारण ओपेक र उसका नजिकका तेल उत्पादक देशका अलावा रुसले उत्पादन घटाउने संकेत दिनु हो । ओपेकको बैठकमा अमेरिका, बेलायत, क्यानडा र मेक्सिकोलाई पनि निम्तो दिइएको छ ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्पादनमा व्यापक कटौती हुने बताएका थिए । ट्रम्पले ट्वीटर गरेर रुस र साउदी अरेबियाले उत्पादन घटाउने आशा व्यक्त गरेका थिए । लगत्तै मूल्य ह्वात्तै बढेको थियो । यसअघि रुस र साउदी अरेबियाबीच तेलयुद्ध चलेको थियो । दुवै देशले उत्पादन बढाएर एकले अर्कालाई अप्ठ्यारोमा पारेका थिए ।

अहिले विश्वभर कोरोना भाइरसको संक्रमणका कारण तेलको खपत कम भएको छ । विश्वबजारमा मूल्य निकै घटेर किर्तिमान कायम गरिसकेको छ ।



प्रतिक्रिया दिनुहोस्