Logo

५८ हजारले ज्यान गुमाए, ४० हजारको अवस्था गम्भीर



चैत २२, काठमाडौं । कोरोना भाइरसले विश्वभर ५८ हजार १ सय २७ जनाले ज्यान गुमाइसकेका छन् । यो समाचार तयार पार्दा (शुक्ररबार राति १२:१५ बजे) सम्म विश्वभर १० लाख ८१ हजार जना संक्रमित छन् भने २ लाख २७ हजार ७ सय जनालाई निको भएको छ।

उपचाररत ७ लाख ९५ हजारमध्येे करिब ४० हजारको अवस्था गम्भीर छ ।

सबैभन्दा बढी इटलीमा १४ हजार ६ सय ८१ जनाले ज्यान गुमाएका छन्। इटलीमा एकै दिन ७ सय ६६ जनाले ज्यान गुमाएका छन्। इटलीमा ८५ हजार ३ सय ८८ जना संक्रमित छन्।

स्पेनमा पछिल्लो २४ घण्टामा नौ सय जनाको ज्यान जाँदा कुल मृतकको संख्या १० हजार ९ सय ३५ पुगेको छ । हालसम्म स्पेनमा एक लाख १७ हजार ७१० जनालाई कोरोना संक्रमण देखिएको छ ।

संक्रमितको संख्या अमेरिकामा २ लाख ६६ हजार ३ सय पुग्दा मृतकको संख्या ६ हजार ८ सय नाघेको छ ।

विश्वका अन्य देशजस्तै बेलायत पनि कोरोनासँग जुधिरहेको छ । यहाँ हालसम्म ३ हजार ६ सय ५ जना मानिसको ज्यान गइसकेको छ । बेलायतमा शुकबार उपचारपछि घर फर्किनेको संख्या केवल २०५ जना मात्रै रहेका छन् ।

इटालीमा एक लाख १९ हजार ८ सय २७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । जसअनुसार शुक्रबार मात्रै इटालीमा सात सय ६६ जनाको कोरोनाको कारण मृत्यु भएको छ । यससँगै इटालीमा अहिलेसम्म कोरोनाका कारण ज्यान जानेको संख्या १४ हजार ६ सय ८१ जना पुगेको छ ।

कोरोनाको उद्गम राष्ट्र चिनमा पछिल्लो २४ घण्टामा ३१ जना नयाँ संक्रमित भेटिएका छन् भने ४ जनाको मृत्यु भएको छ ।

फ्रान्सको तथ्याङ्क डरलाग्दो गरि बढेको छ । त्यहाँ शुक्रबार मात्रै ११ सय २० जनाको मृत्यु हुँदा कुल मृतकको संख्या ६ हजार ५ सय ७ पुगेको छ ।

त्यसैगरि नेदरल्याण्डमा मृतकको संख्या १४८७ पुगेको छ भने बेल्जियममा ११४३ जनाको ज्यान गएको छ ।

जर्मनीमा अहिलेसम्म १२३० जनाको मृत्यु भएको छ ।



प्रतिक्रिया दिनुहोस्