Logo

पहाडी जिल्लामा खाद्यान्न अपुग



काठमाडौँ, २२ चैत । बैतडीमा तीन महिनाका लागि एक लाख १५ हजार क्विन्टल खाद्यान्न अपुग हुने देखिएको छ । प्रमुख जिल्ला अधिकरी आनन्द पौडेलको अध्यक्षतामा बसेको कोरोना भाइरसको प्रकोप रोकथामसम्बन्धी जिल्ला कमान्ड पोस्टको बैठकले बैतडीमा तीन महिनाका लागि पुग्ने खाद्यान्नको विवरण सङ्कलन गर्दा एक लाख १५ हजार २०० क्विन्टल खाद्यान्न अपुग भएको तथ्य सार्वजनिक भएको हो ।

चामल, दाल, पिठो, आलु, नुन, चिनी, तेल, प्याज र खाना पकाउने ग्यास गरि तीन महिनाका लागि दुई लाख चार हजार २०० क्विन्टल खाद्यान्न आवश्यक पर्ने देखिएकामा ८५ हजार ३० क्विन्टल मात्र खाद्यान्न मौज्दात रहेको छ । बैठकमा कृषि ज्ञान केन्द्र, उद्योग वाणिज्य सङ्घ, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बैतडीलगायतको सहभागिता रहेको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिएका छन् । बैठकले जिल्लामा आवश्यक पर्ने खाद्यान्नको विवरण सङ्कलन गरेर गृह मन्त्रालय र आपूर्ति मन्त्रालयमा पठाइएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताएका छन् ।

बजारमा खाद्यान्न अभाव हुन थालेको उद्योग वाणिज्य सङ्घ बैतडीका कोषाध्यक्ष हरिसिंह भण्डारीले बताए । भण्डारीले भन्नुभयो, धनगढीबाट आउने खाद्यान्न लकडाउनपछि आउन छोडेको र थोक व्यापापरीले पसल बन्द गर्दा समस्या भइरहेको छ । सरकारले जतिसक्दो चाँडो खाद्यान्न आपूर्ति गर्न सहज वातावरण बनाउनुपर्छ । स्थानीय तहमा खाद्यान्न ढुवानी सहज बनाउन अनलाइनबाटै सवारी पास दिने व्यवस्था मिलाइएको प्रमुख जिल्ला पौडेलले बताएका छन् । जिल्लामा रहेका खाद्यान्नका पसल खोल्न सबैलाई आग्रह गरिएको खाद्यान्न आपूर्ति सहज बनाउन उद्योग वाणिज्य सङ्घले पहल गरिरहेको उद्योग वाणिज्य सङ्घ बैतडीका अध्यक्ष नरबहादुर चन्दले बताएका छन् ।

बैतडीको दुर्गम शिवनाथ गाउँपालिकामा खाद्यान्न लिन १६ गते धनगढी गएको गाडी २१ गते खाद्यान्न लिएर फर्केको शिवनाथ गाउँपालिकाले जानकारी दिएको छ । यसअघि दुई÷तीन दिनमै फर्किने खाद्यान्नका गाडी एक हप्तापछि मात्र खाद्यान्न लिएर आइरहेको शिवनाथ गाउँपालिका अध्यक्ष कर्ण साउदले जानकारी दिएका छन् । गहुँ पाक्ने बेला भएकाले एक हप्तापछि खाद्यान्नको त्यति ठूलो समस्या नहुने कृषि ज्ञान केन्द्र बैतडीले जानकारी दिएको छ । जिल्लामा वार्षिक ५८ हजार मेट्रिक टन खाद्यान्न आवश्यक पर्ने कृषि ज्ञान केन्द्रले जानकारी दिएको छ । जिल्लामै ४८ हजार मेट्रिक टन उत्पादन हुने कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख कर्णबहादुर चन्दले बताएको खबर गोरखापत्र अनलाइनमा प्रकाशित गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्