चैत २२, काठमाण्डौ । नेपालमा कतिजना व्यक्तिमा कोरोना भेटियो भन्ने विषय एउटा महत्वपूर्ण पाटो हो । तर त्योभन्दा महत्वपुर्ण पक्ष के हो भने यसअघि विदेशबाट आएका नेपालीमा मात्रै कोरोना संक्रमण भेटिएको थियो । तर अब विदेशबाट आएका संक्रमितबाट पारिवारका सदस्यमा पनि सरेको छ । परिवार हुँदै समाजमासमेत कोरोना संक्रमण विस्तार भयो भने अवस्था जटील बन्नेमा दुई मत छैन ।
कोरोना संक्रमित एकै दिन तीन जना थपिनु आफैँमा जोखिम हो । एउटै प्रदेश तीन जना थपिदा सूदुरपश्चिमका चार नागरिकमा संक्रमण हुनुको अर्थ त्यो प्रदेश अन्यभन्दा बढि जोखिममा छ भन्ने बुझिन्छ । जोखिम यति मात्रै होइन, नेपाल कोरोना भाइरस संक्रमणको तेस्रो चरण अर्थात् ’क्लस्टर ट्रान्समिसन’मा पुगेको छ । लकडाउन गरेर सर्वसाधारणलाई घरमा नै रोकेको भए पनि नमुना परीक्षणमा भएको ढिलाइका कारण तेस्रो चरणमा पुग्दा थप संक्रमित फैलिने सम्भावना बढेको छ ।
दुबईबाट नेपाल फर्किएका धनगढीका पुरुषमा भएको कोरोना उनको आफन्त अर्थात भाउजुमा कोभिड १९ को संक्रमण देखा परेको हो । ३४ वर्षीय महिलामा स्थानीय संक्रमण देखा परेसँगै पहिलो पटक नेपाल भित्रै एकबाट अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पनि पुष्टि भएको हो । नेपलामै बसिरहेकी ति संक्रमित महिलालाई अस्पताल र्पुयाइएको छ ।
संक्रमण भएको पुष्टिसँगै घरमै रहेकी उनलाई अस्पताल लगिएको हो । तर, यसबीच उनबाट कति जनामा संक्रमण फैलियो वा उनी कतिजनाको सम्पर्क नजिक पुगिन् त्यसको कुनै लेखाजोखा छैन । संकास्पद वा संक्रमितको सम्पर्कमा रहेका व्यक्तिहरुको बेलैमा ट्रयाकिङ गरेर परीक्षण नगर्दा अन्य व्यक्ति थप लोकल ट्रान्समिसन हुने देखिन्छ । अहिलेसम्म कूल परीक्षण संख्या निकै कम हुनुले भाइरस लागेको व्यक्ति पहिचान हुन नसकेको हुन सक्छ । संक्रमितबाट थप संक्रमण फैलिएको हुनसक्ने आशंकालाई नकार्न सकिदैन ।
विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओको प्रोटोकलअनुसार विदेशबाट नेपाल आएका व्यक्तिबाट परिवारका सदस्यलाई कोरोना संक्रमण हुनु दोस्रो चरण मानिन्छ । यदि छरछिमेकलाई पनि संक्रमण भएको रहेछ भने त्यसलाई कम्युनिटी अर्थात समुदाय ट्रान्समिसन भनिन्छ । कम्युनिटी ट्रान्समिसन महामारी पूर्वको अवस्था हो । यसले नेपालको अवस्था थप गम्भीर भएको देखाएको छ ।
के भन्छन् विज्ञ ?
भारतबाट आएका व्यक्तिमा मात्रै होइन स्वदेशमै रहेका व्यक्तिमा समेत कोरोनाको संक्रमण देखिएपछि नेपालमा यसले भयावह रुप लिने जोखिम बढेको छ । स्वदेशमै रहेका व्यक्तिमा सक्रमण देखिनुलाई लोकल ट्रान्समिसन भनिन्छ । यो कोरोनाको दोस्रो चरण हो । यदि अब पनि कोरोनाको परिक्षणलाई व्यापक नबनाए यसले भयावह रुप लिने सरुवारोग विज्ञहरु बताउँछन् ।
शनिबार एकैपटक सुदुरपश्चिम प्रदेशका तीन जनालाई कोरोनाको संक्रमण देखियो । संक्रमितमध्ये दुई जना भारतबाट हजारौंको भीडसँगै नेपाल प्रवेशकाहरु हुन् भने एक जना स्वदेशमै रहेकी महिला हुन् । दुबईबाट फर्किएका धनगढीका ३४ वर्षीय युवाबाट उनकी भाउजूमा पनि कोरोना सरेको पुष्टि भएको छ । यसले नेपालमा कोरोनाको संक्रमण दोस्रो चारणमा अर्थात लोकल ट्रान्समिसन अर्थात स्थानीय व्यक्तिमा सर्ने तहमा पुगेको छ ।
यो भनेको कोरोनाको संक्रमण अत्याधिक मात्रामा बढ्न सक्ने जोखिम बढ्नु हो । सरकारले अब पनि परिक्षणलाई व्यापक नबनाए यसले भयावह अवस्था ल्याउन सक्ने जनस्वास्थ्य विज्ञहरु बताउँछन् । उनीहरुका अनुसार सरकारले अब लक्षण देखिए पछि मात्रै परिक्षण गर्ने भनेर कुर्ने काम बन्द गर्नुपर्छ । जनस्वास्थ्यविद् डा शरद वन्त भन्छन्– “अब लक्षण मात्रै कुरेर हुँदैन् । विदेशबाट आएका व्यक्ति र तिनको सम्पर्कमा आएका सबै व्यक्तिहरुमा लक्षण नदेखिए पनि परिक्षण गर्नैपर्छ । नत्र स्थिति मुलुकले थेग्न नसक्ने अवस्थामा पुग्छ ।”
डा वन्तको भनाइमा थप जोड दिदै सरुवा रोग विशेषज्ञ डा बाबुराम मरासिनी यसलाई गम्भीरतापूवर्क लिनुपर्ने बताउँछन् । उनका अनुसार सरकारकै हेलचेक्राइका कारण नेपालमा कोरोना संक्रमण दोस्रो चरणमा प्रवेश हो । गर्मी चढेपछि कोरोना सोरोना भागि हाल्छ नी भनेर सुरुमा तयारी गर्न ढिलाई गर्नु, नेपालमा कोरोना पुष्टि भएपछि पनि परिक्षणलाई व्यापक नबनाउनु लगायतका कारणले आजको अवस्था देखा गरेको हो ।
अब विदेशबाट आएर व्यक्तिहरु बसेको प्रत्येक गाउँबाट नमुना संकलन गरेर व्यापक रुपमा परिक्षण गर्नु पर्ने उनी बताउँछन् । नत्र यो भूसको आगो जसरी सल्किने सरुवारोग विशेषज्ञ डा मरासिनीको चेतावनी छ ।
विज्ञहरुले अहिलेमात्रै होइन एक महिना अगाडी नै कोरोना परिक्षण बढाउनु पर्नेमा जोड दिदै आएका थिए । यदि यसलाई हेल्चेक्राइ गरे थेग्नै नसक्ने परिस्थिती सृजना हुने चेतावनी दिदै आएका छन् । तर, सरकारले लकडाउनको घोषणा गरेर जनातालाई घरभित्रै राख्न खोजे पनि परिक्षणको दायरा भने बढाएको थिएन् ।
अब कोरोनाको संक्रमण दोस्रो चरणमा प्रवेश गरेपछि चाही सरकार के गर्ने योजनामा छ ? स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटालाई हामीले यो प्रश्न सोधेका थियौँ । उनले सरकारको अहिलेसम्मको प्रयास सन्तोषजनक भएको भन्दै थप निगरानी बढाइने बताए ।
लोकल ट्रान्समिसन भएको र संक्रमणको दोस्रो चरणमा पुगेकाले सावधानी बढाउनु पर्ने देखिएको प्रवक्ता देवकोटाले बताएका छन् ।
विदेश नगइ नेपालमै बसिराखेका व्यक्तिमा समेत कोरोनाको संक्रमण देखिएपछि यसले आम नागरिकलाई झस्काएको छ । कोरोनाले भयावह रुप लिने हो की भन्ने त्रास देखिन थालेको छ । यो त्रास कमगर्न र भूसको आगो जसरी कोरोना फैलिन नदिन सरकारले लक्षण नदेखिए पनि विदेशबाट आएका र तिनका सम्पर्कमा पुगेका प्रत्येक व्यक्तिको परिक्षण गर्न जोड दिनुपर्ने देखिन्छ ।