Logo

सुख्खा बन्दरगाहमा कन्टेनर थुप्रिए, क्षमताभन्दा दोब्बर कन्टेनर



काठमाडौँ, २३ चैत । कोरोना भाइरसको संक्रमण नफैलियोस् भनी नेपाल सरकारले लक डाउन गरेपछि भारत हुँदै तेश्रो मुलुकबाट आएका दुईहजार भन्दा बढी कन्टेनर गन्तव्यसम्म पुग्न नपाई वीरगञ्जस्थित सुख्खा बन्दरगाहमा थन्किएका छन् ।

१५ सय ४२ टि यू ई कन्टेनर राख्ने क्षमता रहेको सुख्खा बन्दरगाहमा अहिले २४ सय ५० टि यू ई कन्टेनर थन्किएर रहेका छन् भने करिब १८० टि यू ई कन्टेनर सुख्खा बन्दरगाह आउँदै गरेको अवस्थामा बाटोमा नै रहेका छन् । वीरगञ्जस्थित सुख्खा बन्दरगाह सञ्चालक कम्पनी हिमालय टर्मिनल प्रालिका व्यवस्थापक सदस्य अनिमेष कुमारले कन्टेनर आईरहेका तर जानुपर्ने कन्टेनर नगएकाले भन्सार क्षेत्रमा थन्किएको बताउनु भयो । सुख्खा बन्दरगाह भन्सारमा १४ सय ५३ वटा ४० फिटे लामा कन्टेनर र ३सय ४५ वटा २० फिटे छोटा कन्टेनर भरी सामान रहेको छ भने २ सय ८० २० फिटे र ११ वटा ४० फिटे कन्टेनर मात्र खाली कन्टेनर रहेका छन् ।

खाली र भरिएका कन्टेनर करिब बराबरीको हाराहारी रहनु पर्नेमा आयात गरिएको सामग्री गन्तव्यसम्म नपुगेकाले भरी कन्टेनर भन्सारमा नै थन्किएको उहाँले बताउनुभयो । २ देखि ३ दिनको अन्तरमा कन्टेनर आईरहेको तर लक डाउनको कारण बारा र पर्सा बाहेक अन्यत्र कन्टेनर पठाउन नसकिएकाले थन्किएको सुख्खा बन्दरगाह सञ्चालक कम्पनी हिमालय टर्मिनल प्रालिका व्यवस्थापक सदस्य अनिमेष कुमारको दाबी छ ।

दैनिक २ सय ५० देखि ३ सय कन्टेनर सुख्खा बन्दरगाहबाट निस्कने गरेकोमा हालका दिनमा १ सय २० देखि १ सय ५० वटा कन्टेनरबाट सामान लिएर जाने गरेकाले प्रतिदिन बन्दरगाहमा कन्टेनरको संख्या बढ्दै गएको हो । कन्टेनर धेरै भएकाले तीन देखि चार तह मा गरेर कन्टेनर भण्डारण गरिएको तर कन्टेनर डेरीभरी दिँदा तीन चार तह मुनि चेपिएको कन्टेनर निकाल्न अझ समस्या पर्ने गरेकाले काम काजमा बढी समय र खर्च लाग्ने गरेको खबर गोरखापत्रमा प्रकाशित गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्