Logo

संसद् अधिवेशन अन्त्यको अन्योल कायमै



काठमाडौँ, २३ चैत । अघिल्लो वर्ष संसद्को हिउँदे अधिवेशन चैत १० गते सकिएको थियो । तीन महिनामै अधिवेशन अन्त्य भए पनि यो वर्ष भने अधिवेशन अन्त्यको कुनै तयारी छैन ।

कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण जोखिम न्यूनीकरणका लागि सरकारले लकडाउन घोषणा गरेपछि अधिवेशन अन्त्य झनै अन्योलमा परेको छ । सरकारको सिफारिसमा राष्ट्रपतिबाट अधिवेशन आह्वान र अन्त्यको संवैधानिक व्यवस्था भए पनि संसद्सँग अहिलेसम्म कुनै परामर्श भएको छैन । अन्त्यअघि सामान्यतया अनौपचारिक परामर्श गर्ने प्रचलन छ । सङ्घीय संसद्का कार्यवाहक महासचिव गोपालनाथ योगीले अधिवेशन अन्त्यबारे कुनै जानकारी प्राप्त नभएको बताएका छन् । उनले भने, “निरन्तरको लकडाउनका कारण कुनै परामर्श भएको छैन । अधिवेशन अन्त्यलगायतबारे कुनै पनि जानकारी हामीलाई आएको छैन । अघिल्लो वर्षको तुलनामा त हामी अलि ढिला भइसकेका छौँ ।”

कोरोनाको सङ्क्रमण विश्वव्यापी रूपमा बढ्दै गएपछि सांसदहरूले अधिवेशन अन्त्यको मागसमेत गर्दै आएका थिए । फागुन अन्तिम साताबाटै अधिवेशन अन्त्यको माग भए पनि केही विधेयक र एमसीसी पारितका लागि बैठक लम्ब्याइएको थियो । तर, लकडाउनको अवस्थापछि बैठक बस्न नसकेको हो । लकडाउनको अवधिमा प्रतिनिधि सभाको बैठक तीन पटक सूचनाबाट पछि सारिएको छ । राष्ट्रिय सभा भने चैत ७ पछि अर्को सूचना जारी नभएसम्म स्थगित भइसकेको छ । प्रतिनिधि सभा भने चैत १३ बाट २३ गतेका लागि सारिएको थियो । तर, लकडाउनको अवधि लम्बिएपछि चैत ३० सम्म स्थगित गर्ने सूचना सचिवालयले जारी गरिसकेको खबर गोरखापत्रमा प्रकाशित गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्