Logo

पत्रिकाविरुद्धको कोरोना आक्रमण



संयुक्त राज्य अमेरिकाका सञ्चारविज्ञ प्राध्यापक फिलिप मेयरले एघार वर्षअघि गहिरो अध्ययनका आधारमा आँकलन गरेका थिए, सन् २०४४ को मार्च महिनासम्म पुग्दा अखबारका पाठक शून्यमा पुग्नेछन् ।

उनले आफ्नो चर्चित पुस्तक द भ्यानिसिङ न्यूजपेपरमा सन् १९६० देखिको अमेरिकी अखबारहरूको प्रसार सङ्ख्याको अध्ययनका आधारमा वैज्ञानिक ढङ्गले यस्तो निष्कर्ष प्रस्तुत गरेका थिए । तर कोभिड–१९ को विश्वव्यापी महामारीले अखबारहरूलाई झण्डै अढाई दशक अगावै एउटा कठिन मोडमा ल्याइपु¥याएको छ । अखबारबाट कोरोना भाइरसको सङ्क्रमण हुँदैन तर कोरोनाको आतङ्कबाट बच्दै अखबारहरूलाई घरघरमा पु¥याउने समस्या छ । अझ सारा विश्वको यावत् आर्थिक गतिविधि रोकिएको यो अवस्थामा आर्थिक सङ्कटले पनि कस्दै लगेको छ । राजकीय मामिलादेखि मानव समाजका हरेक व्यवहार अब कोरोना भाइरसबाट बच्ने उपायको खोजी र अवलम्बनमै सीमित हुन पुगेको छ ।

समाचारका सामग्री र विश्लेषणका विषयवस्तुको विविधतामै खडेरी लाग्न थालेको छ । मानव रुचिको दायरासमेत केवल कोरोनाजन्य विषयवस्तुमा खुम्चिन पुगेको छ । त्यसैले विश्वभरको पत्रकारिताले यतिखेर विगतका दुई महायुद्धको कालखण्डभन्दा पनि कठिन चुनौतीको सामना गर्नुपरेको देखिन्छ । त्यसबेलाभन्दा फरक के छ भने अहिले हामीसँग इन्टरनेटमा आधारित सूचना महामार्ग छ ।
यो महामार्ग कालान्तरमा छापा माध्यमका लागि चुनौती हुने भविष्यवाणी भएकै थियो । अहिले तत्कालका लागि भने यसैले पत्रकार वा पत्रकारिताका संस्थालाई अन्तर्वस्तु पस्किने प्रभावकारी, सहज र सुरक्षित माध्यम उपलब्ध गराएको छ । अनलाइन माध्यमबाट आममानिसका लागि सूचना वा विश्लेषण उपलब्ध गराउन सक्ने अवस्था नभएको भए पनि यतिखेर पत्रकारिता मरिहाल्ने त थिएन । तर सूचनाको यति द्रुत र व्यापक प्रसार सम्भव थिएन ।

आज हातहातमा अखबार पढ्ने, रेडियो सुन्ने र टेलिभिजन हेर्ने संसारभरका मानिस नयाँ–नयाँ मात्र होइन, तत्कालका सूचनाबाट समेत विमुख छैनन् । दक्ष र फुर्तिला पत्रकारहरूका लागि माध्यम फेरिँदै जान सक्छ, अन्तर्वस्तु माध्यमविहीन हुनै सक्दैन । साधनहरू नयाँ–नयाँ आउँछन्, सूचना र विश्लेषण एकैचोटी असङ्ख्य मानिससम्म पु¥याउने पत्रकारिताको धर्मको निर्वाह भइरहने विचार प्रस्तुत भएको खबर गोरखापत्रमा प्रकाशित छ ।



प्रतिक्रिया दिनुहोस्