Logo

बेलायत, जर्मनी र क्यानाडा उड्दै नेपाल एयरलाइन्स



काठमाडौँ, २३ चैत । राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाजले बेलायत, जर्मनी र क्यानाडामा चार्टर्ड उडान गर्ने भएको छ । विपद्को उडान सारथी बनिरहेको निगमको वाइडबडी जहाजले यसै साता ती गन्तव्यको उडान भर्ने तयारी गरेको हो । निगमका अपरेशन विभाग प्रमुख दिपु जहार्चनले लण्डन, फ्राङ्कफर्ट र क्यानाडा उडानको प्रारम्भिक तयारी भइरहेको जानकारी दिएका छन् ।

“युरोपका मुख्य गन्तव्यमा चार्टर्ड उडानको प्रारम्भिक तयारीमा जुटेका छौँ, अबको सात देखि १० दिनभित्र निगमको वाइडबडी जहाज बेलायत, जर्मनी र क्यानाडा पुग्छन्”, उनले भने । निगमको यी गन्तव्यको उडान भने व्यावसायिक नभई चार्टर्ड उडान हो । सम्बन्धित मुलुकले निगमको ‘प्रावधान’ स्वीकारेमा १० दिनभित्र ती मुलुकमा उडान भरिने प्रमुख जुहार्चनको भनाइ छ । यी तीनवटै गन्तव्यमा निगमको वाइडबडी जहाजले सिधा उडान गर्नेछन् । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलदेखि लण्डन गन्तव्यमा करिब साढे १२ घण्टाको उडान भर्नुपर्ने हुन्छ । वाइडबडीले लण्डनबाट क्याना र जर्मनीको उडान भर्नेछ । निगमले शुरुमा बोइङ ७६७ जहाजमार्फत लण्डन, पेरिस र फ्राङ्फर्ट उडान गरेको थियो । जहाज अभावलगायत कारण देखाउँदै बिचमै सेवा रोकेको थियो ।

निगमले वि.स. १९८८ मा युरोपका गन्तव्यमा उडान भरेको थियो । युरोपका ती गन्तव्यमा दुबई भएर उडान गरिन्थ्यो । निगमका पूर्व निर्देशक रामहरी शर्माले निगमले देशलाई अफ्ठयारो परेकाबेला सहयोग गर्नुपर्ने दायित्व भएकाले अहिले आफ्नो भूमिकालाई प्रभावकारी बनाएको बताए । आर्थिक रुपमा कमजोर रहेको निगमको हालको अवस्थालाई सुधारी सवल बनाउन सरकारले पनि यसको अवश्यकता र सान्दर्भिकतालाई बुझेर प्रवद्र्धनमा ध्यान निदुपर्ने उनको भनाइ छ ।

निगमले विषम परिस्थितिमा आफ्नो सेवालाई चार्डड उडानकै रुपमा भएपनि गन्तव्य विस्तार गर्दै आफ्नो साखलाई उँचो बनाउन प्रभावकारी भूमिका निर्बाह गरिरहेको छ । आफ्नो ६० वर्षे उड्डयन इतिहासमा पहिलो पटक वाइडबडीजहाजमार्फत लामा गन्तव्यको उडान भरेर संस्थाको सान्दर्भिकता र औचित्यतालाई पुष्टि गरिसकेको छ । सिङ्गो देशवासी मात्र नभई विदेशी नागरिकका लागि पनि निगमका वाइडबडी जाहज विपद्मा सहयोगी बनिरहेका छन् ।

यसअघि निगमले आफ्नो उड्डयन इतिहासमै पहिलो पटक लामो गन्तब्यको अष्ट्रेलियाको शहर ब्रिस्बनमा चार्टर्ड उडान गरेको थियो । निगमको वाइडबडी जहाजले चैत १९ मलेसियाको क्वालालम्पुर हुँदै ब्रिस्बनसम्मको करिब १३ घण्टाको उडान यात्रा गरेको थियो । यो उठानलाई निगमले ऐतिहासिक र अद्वितीय उडान भनेको छ । निगमको अष्ट्रेलिया उडानपछि अन्तरराष्ट्रियरुपमा पनि निगमले राम्रै प्रसंशा बोटुलेको छ ।

नेपालस्थित अष्ट्रेलियन दूतावासले निगमको साहसिक उडान कार्यको सराहना गर्दै विशेष धन्यवाद पनि दिएको छ । निगमको अपरेशन विभागमार्फ दू्तावासले छोटो समयमै निगमले घोषित कार्यतालिकाभित्रै उडान भरेर आफ्नो विश्वास बढाएको दूतावासले उल्लेख गरेको विभाग प्रमुख जुहार्चनले बताए । नेपालका लागि अष्ट्रेलियन राजदूत पिटर बडले नेपाल–अष्ट्रेलिया सिधा उडानका लागि चासो जनाउँदै यो उडानले आगामी दिनमा उडान निरन्तरताका लागि योगदान पुग्ने विश्वास दिलाएको उनको भनाइ उद्धृत गर्दै प्रमुख जुहार्चनले जानकारी दिए । सरकारले अष्ट्रेलिया सिधा उडानका लागि हवाई सम्झौता गरिसकेको छ । छिट्टै यो गन्तव्यमा उडान हुने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उच्च अधिकारीको विश्वास रहेको खबर राससबाट प्राप्त भएको छ ।



प्रतिक्रिया दिनुहोस्