Logo

नेपाल कोरोना संक्रमणको दोस्रो चरणमा



काठमाडौं, २३ चैत । मुलुकमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण दोस्रो चरणमा प्रवेश गरेको छ । ट्राभल हिस्ट्री (यात्राको इतिहास) भएका व्यक्तिमार्फत परिवारमा संक्रमण फैलिएकोले मुलुक दोस्रो चरणमा प्रवेश भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार दुबईबाट फर्केका कैलालीका संक्रमित एक युवाको भाउजुमा कोरोना भाइरस पोजेटिभ देखिएपछि दोस्रो चरण सुरु भएको हो । युवासँग भेट भएको १२ दिनपछि उनकी भाउजुमा संक्रमण भएको थियो । व्यक्तिमा सिमित संक्रमण (विदेशबाट फर्केर आएका) पहिलो चरण हो । ट्राभल हिस्ट्री भएको व्यक्तिमार्पmत परिवारमा संक्रमण देखिनु दोस्रो चरण मानिन्छ । एउटा समुदायबाट अर्को समुदायमा फैलनु तेस्रो चरण हो भने महामारीको रुप लिएको अवस्था चौथो चरण हो ।

मन्त्रालयका प्रवक्ता देवकोटाले भने, ‘ती महिला संक्रमित परिवारको सदस्य हुन् । उनको ट्राभल हिस्ट्रि छैन । यस कारणले हामी दोस्रो चरणमा प्रवेश गरेको देखिन्छ ।’ संक्रमित व्यक्तिले खोक्दा वा हाच्छ्युँ गर्दा नाक तथा मुखबाट निस्कने छिटाको माध्यमबाट सर्ने कोरोना भाइरसको जोखिम ग्रामीण तहमा पुगेको समाचार अन्नपूर्ण पोष्ट्बाट साभार गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्