काठमाडौं, २३ चैत्र । नेपाली काँग्रेसका नेता भरतबहादुर खड्का सुदुरपश्चिममा भारतलगायत विदेशबाट आउने नेपालीको उल्लेख्य संख्या प्रवेश गरेको बताउँछन् । विदेश गएर आएकाको वास्तविक तथ्यांक नै नभएको भन्दै सरकार गम्भीर नभएको आरोप लगाए । उनले स्थिति भयावह हुनसक्ने समेत बताए । यसै सेरोफेरोमा खड्कासँग ऋषि धमलाले गरेको कुराकानीः
तपाईं सुदूपश्चिममा कांग्रेसको नेता त्यहाँको अवस्था के छ ?
सुदूरपश्चिमको अवस्था अत्यन्त दयनीय छ । यहाँका हज्जारौं व्यक्ति रोजगारीका लागि भारतलगायत विदेशमा बसेका थिए । अहिले ती फिर्ता आएका छन् । त्यस्तो व्यक्ति कति संख्यामा भित्रिएका छन् भनर एकीन तथ्यांक छैन । त्यस्ता मान्छेहरुलाई स्थानीय सरकारका प्रतिनिधिहरुले वास्तविक पहिचान गरेर आइसुलेसनमा राख्न जरुरी थियो, छ । योतर्फ स्थानीय, प्रदेश र संघीय सरकार गम्भीर भएको देखिँदैन । यदि त्यो प्रवन्ध मिलाउन सकेनौं भने देशमै ठूलो महामारी ल्याउन सक्छ । अहिलेसम्म कुन–कुन देशबाट कति मान्छे आए, कुन अवस्था छन् । कुन अवस्थामा आएका त्यसकै कुनै लेखाजोखा छैन । अहिलेसम्म फाट्टफुट्ट आफै सम्पर्कमा आएका मान्छेमा मात्रै देखिएको छ । यस्तो समस्या यति मात्रै होइन धेरै हुन सक्छ ।
सरकारले एकगाउँ, एकठाउँ, एकजिल्लाबाट अर्कोमा जान नपाउने कदम चालेको छ नि त्यतातिर तपाईंहरुको ध्यान छैन ?
त्यो गर्नु राम्रो कुरा हो । लकडाउन भनेको सतर्कता अनाउने बाटो हो यसले राम्रो सहयोग पुगेको छ । यी कुरालाई आफ्नै समस्या ठानेर सबैले साथ दिनुपर्छ । सरकारको यो रणनीतिक कदम हामी आफैका लागि हो । जहासम्म सुदूरपश्चिमका कुरा छ, त्यसमा सरकारले योजना, तर्जुमाका निर्णय मात्रै गरेर हुँदैन ।
त्यहाँ सरकारले के के गर्नुपर्छ त ?
सर्वप्रथम त सुदूरपश्चिममा जाँचपड्ताल गर्ने इक्युप्मेन्टहरु नै राम्रा छैनन् । दक्ष स्वास्थ्यकर्मीको पनि कमी छ । अझ गाउँ–गाउँको कुरा गर्ने हो भने आवश्यक उपकरण स्वास्थ्यकर्मीहरु नै छैनन् । त्यसकारण यी ठाउँमा सरकारले राम्रा स्वास्थ्यकर्मी र आवश्यक उपकरणहरु उपलब्ध गराउनुप¥यो । बाहिरबाट आएका मान्छेको पहिचान स्थानीय सरकारका प्रतिनिधिहरुलाई थाहा हुन्छ । उनीहरुको पहिचान गरी कम्तिमा १४ दिनसम्म क्वारेन्टाइनमा राख्ने व्यवस्था छिटोभन्दा छिटो गर्नुपर्यो । सँगसँगै सुदूपश्चिम प्रदेशमा खाद्यान्नाको समस्या परिसकेको छ । सरकारले छिटोभन्दा छिटो त्यसको प्रवन्ध गर्नुपर्यो ।
सुदूपश्चिममै विदेशबाट आउनेको आफन्तमा भाइरस स¥यो नि ?
यसको न्यूनिकरणका लागि हाइलेभलबाट कुरा गरेर उचित प्रवन्ध गर्नुपर्यो । हजारौं नागरिकहरु सीमानामा अहिले पनि अलपत्र अवस्थामा छन् । तिनको लागि उचित प्रवन्ध सरकारले गर्नुपर्यो । अहिले यहाँ कुनलाई पर्यो भन्ने होइन । विश्वभरिका आमनागरिकलाई यो समस्या छ । यसलाई कसरी व्यवस्थापन गर्ने सबैको दायित्वभित्र पर्छ । मानवीय सम्वेदनाका हिसावले पनि उनीहरुको उचित प्रवन्ध गर्नुपर्छ । नत्र सुदूरपश्चिमा भयावह स्थिति आउन सक्छ । यहाँ त चारैतिर खुला नाका छ । कहाँबाट को आउँछ थेग्नै नसकिने अवस्था छ । यदि समयमा सरकारले गम्भीर भएर सोचेन भने नेपालले थेग्न सक्दैन । केन्द्रमा बसेर ठूलो–ठूलो स्वरमा निर्णय मात्रै गरेर केही हुनेवाला छैन ।
यो त तपाईंहरुको पनि दायित्व हो नि ?
ठीक छ त्यसमा कहाँ होइन भनेको छ र । तर, पहिलो जिम्मेवारी त सरकारको हो नि । उसले आफ्ना नागरिकको जवादेहीता लिनुपर्छ । यदि केही भइहाल्यो भने त्यहाँ उचित प्रवन्ध गर्न सक्ने सामर्थ पनि त सरकारले राख्न सक्नुप¥यो नि । जिल्ला, प्रदेश लकडाउन मात्रै गरेर केही हुँदैन । लकडाउनसँग समस्या समाधानका उपायहरु अपनाउनुपर्यो नि । केन्द्रमा बसेर निर्णय मात्रै गरेर हुन्छ । अब डोटीकै मात्र कुरा गर्ने हो भने ३ भन्दा बढी क्वारेन्टाइनमा छन् । तीनका समस्या त्यतिकै छन् । त्यसैले निर्णय खाने होइन, यसलाई कार्यान्वयन गर्नुपर्छ । अहिले पक्षविपक्षको कुरै छैन । विश्वनै मानवीय विपत्तीमा छ । नेपालजस्तो गरीव मुलुकले स्थिति विकराल भयो भने धान्न सक्ने अवस्था छैन । अहिले त राज्यको दायित्व भनेको आफ्ना नागरिकलाई बँचाउने हो । नागरिक नै रहेन भने के को राष्ट्र रहन्छ । विशेष गरेर अहिले सुदूरपश्चिम जोखिममा छ । त्यसको न्यूनिकरणका लागि संघीय, प्रदेश र स्थानीय सरकारलगायत सबैको समनात्मक सहयोगको आवश्यकता छ ।
नेपालमा लकडाउनलाई निरन्तरता दिनुपर्छ कि पर्दैन ?
एकअर्कामा जथाभावी गरेर हिड्न दिनुहुँदैन । मुलुकमा लकडाउन एकदमै आवश्यक छ । लकडाउनका साथसाथै निम्नतम आधारभूत आवश्यकताका कुराहरु जस्तै दाल, चामल, नून, तेल, साबुन, पानी, चिकित्सक, औषधिलगायतका वस्तुको पनि प्रवन्ध हुनुपर्छ । यी चिजहरु कम्तिमा हरेक वडा–वडामा पुग्नुपर्छ । शक्तिशाली मुलुकहरु यसबाट आक्रन्त छन् भने नेपालजस्तो गरीव मुलुकलाई यो असाधारण स्थितिमा त्यति सजिलो छैन । यो बुझेका छन्, नेपाली जनता सहनशील पनि छन् । जसको कारण अहिलेको लकडाउन पूर्णरुपमा पालना भएको छ । केही फाट्टफुट्टबाहेक । त्यसकारण समय अनुसार लकडाउन बढाउनुपर्छ । तर, आपूर्ति व्यवस्थालाई कसरी सहज बनाउने र जनताले चाहेको बेलामा कसरी घरदैलोमा पुर्याउन सकिन्छ त्यसतर्पm राज्य सजग हुनुपर्छ । नागरिकमा अब खान पाइँदैन भन्ने आतंक हुनुहुँदैन त्यो भयो भने भोलि जनता सडकमा आउँछ र लकडाउन लथालिंग हुन्छ । त्यसैले जनतामा त्यो भय सिर्जना हुन दिनुहुँदैन ।-File Photo