काठमाडौं, २४ चैत । पछिल्लो २४ घण्टामा नेपालमा थप व्यक्तिमा संक्रमण नदेखिएको बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो २४ घण्टामा गरिएको २ सय ५२ नमूना परीक्षणमा सबैको रिपोर्टमा संक्रमण नभेटिएको जानकारी दिएका छन् ।
उहाँले हालसम्म १५ सय २९ जनाको नमूना परीक्षण भएको जानकारी दिँदै आइसोलेशनमा भने काठमाडौंमा १२ र बाहिर १ सय १ गरि जम्मा १ सय १३ जना रहेको बताएका छन् । प्रवक्ता देवकोटाले प्रभावित विभिन्न देशबाट आई भक्तपुरको खरिपाटी क्वारेन्टाइनमा राखिएका ९४ जनाकै रिपोर्ट नेगेटिभ आएको पनि जानकारी दिएका छन् । उनले नेपाल संक्रमणको दोस्रो चरणमा प्रवेश गरिसकेकाले यसलाई थप अर्को चरणमा प्रवेश गर्न नदिन क्वारेन्टाइनमा बस्नुको विकल्प नरहेको भन्दै विदेशबाट आएकाहरुलाई सम्पर्कमा आई क्वारेन्टाइनमा बस्न आग्रह समेत गरेका छन् ।
प्रवक्ता देवकोटाका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला सहित हेटौंडा, चितवन, धरान, सुर्खेत, जनकपुर ,पोखरा र धनगढी गरी आठ स्थानबाट नमूना परीक्षण भइरहेको छ । यस्तै, बुटवलमा परीक्षण सुरु हुन बाँकी छ । यसअघि शनिबार एकैदिन तीनजनामा संक्रमणको पुष्टि भएको थियो । पहिलो पटक नेपालमा धेरै संख्यामा संक्रमण देखिएको यो पहिलो घटना हो । नेपाल संक्रमणको दोस्रो चरणमा स्थानीय संक्रमणमा प्रवेश गरिसकेको छ । (गोरखापत्रबाट)