काठमाडौं, २४ चैत्र । नेपाल सरकारका सचिव एकनारायण अर्यालले काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको पदभार ग्रहण गरेका छन् । सोमबार एक कार्यक्रमका बीच अर्यालले महानगरको प्रमुख प्रशासकीय अधिकृतको पदभार ग्रहण गरेका हुन् ।
कलकत्तास्थित नेपाली महावाणिज्यदुतको रुपमा कार्यरत रहेकै समयमा सरकारले अर्याललाई एक महिना अघि मात्रै सचिवमा बढुवा गर्दै काठमाडौ महानगरपालिकाको प्रमुख प्रशाकिय अधिकृतको रुपमा पदस्थापन गरेको थियो । अर्यालले पदभार ग्रहण गरेलगत्तै आफू विषम परिस्थितिमा प्रशासकीय प्रमुखको रुपमा आएको भएपनि महानगरको समग्र विकास र समृद्धिमा दत्तचित्त भएर लाग्ने प्रण गरे ।
अर्यालले हालको जोखिमयुक्त समयमा महानगरवासी लगायत सबै नागरिकले संयमित र अनुशासित भई कोरोना भाइरसको सम्भावित जोखिम सँग लड्नु पर्ने आवश्यकता औल्याए । उनले महानगरको राजनीतिक नेतृत्व सँग असल सहकार्य गर्दै नगरवासीले भोग्नुपरेका तमामखाले समस्या समाधान गर्न आफु अहोरात्र खटिने प्रतिवद्धता जनाए ।
अर्याल बढुवा भएर महानगरमा पदस्थापन भएपनि महावाणिज्यदुतका रुपमा केहि कुटनीतिक प्रक्रिया पुरा गर्नुपर्दा र त्यसलगत्तै कलकत्ताबाट काठमाडौ आएर नियम अनुसार सेल्फ क्वारेन्टाइनमा बस्नुपर्दा पदभार ग्रहण गर्न केहि ढिलाई भएको थियो । अर्यालले महावाणिज्यदुत रहदा भारत र नेपालको पारवहन सम्वन्धमा सुधार गर्नुका साथै व्यापार प्रवद्र्धनमा द्रुतता ल्याएका थिए ।