चैत २५, काठमाण्डौ । कोरोना भाइरसले अहिलेसम्म (चैत २५, १२:००बजे) ७३ हजार ९ सय २७ जनाको ज्यान लिएको छ । त्यसैगरि अहिलेसम्म कुल १३ लाख २८ हजारभन्दा बढि संक्रमित भएका छन् । संक्रमितमध्ये २ लाख ८४ हजार निको भएका छन् । तर उपचाररत ९ लाख ७७ हजारमध्ये करिब ४६ हजार ५ सयको अवस्था गम्भीर छ ।
पछिल्लो २४ घण्टामा ५५ हजारभन्दा बढी नयाँ संक्रमित भेटिएका छन् भने ४ हजार ३ सयको मृत्यु भएका छन् ।
सबैभन्दा बढि संक्रमण फैलिएको अमेरिकामा कुल संक्रमितको संख्या ३ लाख ५६ हजार पुगेको छ । त्यस्तै एकदिनमै अमेरिकामा १९ हजार जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ भने सोमबार मात्रै ८ सय ५१ जनाको मृत्यु भएको छ ।
अमेरिकामा अहिलेसम्म संक्रमणका कारण मृत्यु हुनेको कुुुल संख्या १० हजार ४ सय ६७ पुगेको छ । चीनको वुहानबाट निस्किएको कोरोना भाइरसको कारण सबैभन्दा प्रभावित बनेको मुलुक अमेरिकामा पछिल्लो केही दिनयता नयाँ संक्रमित र मृतकको संख्या पनि तीव्र गतिमा बढेको छ । बिरामीको संख्या बढेसँगै अमेरिकामा स्वास्थ्य सामग्रीको अभाव चुलिन सक्ने विश्लेषकहरुले चेतावनी दिइसकेका छन् ।
अहिलेसम्म सबैभन्दा धेरै मृत्यु इटलीमा भएको छ । इटालीमा एकैदिन ६ सय ३३ जनाको मृत्यु भएको छ भने कूल मृतकको संख्या १६ हजार ५ सय २३ पुगेको छ । त्यहाँ संक्रमितको संख्या १ लाख ३२ हजार नाघेको छ ।
त्यस्तै फ्रान्समा संक्रमित हुनेको कूल संख्या ९८ हजार पुगेको छ । मर्नेको संख्या ८ हजार ९ सय ११ पुगेको छ । त्यहाँ सोमबार मात्रै ८ सय ३३ जनाको मृत्यु भयो ।
उता स्पेनमा एकैदिन ५ सय २८ जनाको मृत्यु भएको छ । योसहित स्पेनमा मर्नेे संख्या १३ हजार १ सय ६९ पुगेको छ । त्यसैगरि चिनमा मर्नेको संख्या ३ हजार ३ सय ३१ पुगेको छ । नियन्त्रणमा आइसकेको भनिए पनि चिनमा सोमबार ३९ जना नयाँ संक्रमित भेटिए भने २ जनाको मृत्यु भएको छ ।
चिनमा अहिले पनि १२ सय ९९ जनाको उपचार भइरहेको छ । त्यहाँ कुल संक्रमितको संख्या ८१ हजार ७ सय ८ हो ।
बेलायतमा पनि कोरोना तीब्र गतिमा फैलिएको छ । सोमबार त्यहाँ ४ सय ३९ जनाको मृत्यु भयो भने ३ हजार ८ सय नयाँ संक्रमित भेटिए । त्यहाँ कुल संक्रमितको संख्या ५२ हजार पुग्न लागेको छ भने ५ हजार ३ सय ७३ जनाको मृत्यु भइसकेको छ ।
छिमेकी मुलुक भारतमा अहिलेसम्म ४ हजार ७ सय ७८ जना संक्रमित छन् भने १ सय २९ जनाको मृत्युु भइसकेको छ । भारतमा पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भयो भने ४ सय ८९ जनामा संक्रमण देखियो ।
यो भाइरस विश्वका २ सय ९ देशमा फैलिएको छ ।