चैत २५, काठमाण्डौ । भारतमा विभिन्न ठाउँमा कोरोना भाइरसको संक्रमण तेस्रो चरणमा पुगेको छ ।
कोरोना भाइरस तीन चरणमा फैलिने गर्छ । पहिलो चरणमा विदेशबाट आएका व्यक्तिमा मात्र लाग्छ । दोस्रो चरण ती विदेशबाट आएका व्यक्तिले अर्को व्यक्तिमा सार्ने गर्छन् । जब तेस्रो तथा अन्तिम चरणमा एक समुदायले अर्को समुदायमा सार्ने अवस्था आउँछ, तब यो नियन्त्रणमा ठूलो समस्या हुन्छ ।
नेपालमा भने भर्खरै मात्र कोरोनाको संक्रमण दोस्रो चरणमा पुगेको छ । तर भारतमा तेस्रो चरणमा पुगेकाले नेपाललाई ठूलो खतरा देखिन्छ ।
नेपालको सीमावर्ती भारतीय क्षेत्रमा भने अझैसम्म कोरोनाको संक्रमण दोस्रो चरणमा रहेकाले नेपालले समयमै सतर्कता अपनाउनु पर्छ ।
खुला सीमा भएकाले नेपाललाई भारतमा समुदाय चरणमा फैलिँदा ठूलो खतरा हुन्छ । नेपालका विभिन्न नाकाबाट आवत जावत बन्द भए पनि मानिसहरु खुसा सीमा फाइदा उठाएर ओहोर दोहोर गरिरहेका छन् ।
भारतमा मृत्यु हुनेको संख्या १ सय ३६ पुगेको छ । संक्रमितको संख्या ४ हजार ७ सय ७८ पुगेको छ । अहिलेसम्म ३ सय ७५ जना भारतमा उपचारपछि घर फर्किएका छन् ।
अब नेपालले थप सतर्कता अपनाउनुको विकल्प छैन । नेपालमा अहिलेसम्म ९ जनालाई संक्रमण भएकोमा १ जना निको भएका छन् भने ८ जनाको उपचार भइरहेको छ ।