Logo

पत्नीलाई साइकलमा राखेर लकडाउनको बेला ७०० किमि यात्रा



‘डर र भोकले कसलाई आँट नदेलार?’

यो भनाइ न कुनै महान् दार्शनिकको हो, न कुनै उपन्यासको कुनै पात्रको। बरु एउटा मजदुरको हो जसले साइकलमा आफ्नी पत्नीलाई बसाएर पाँच दिनमा ७०० किलोमिटरको यात्रा पूरा गर्दै आफ्नो घर पुगे। राघोराम उनै हजारौँ मानिसमध्ये एक हुन् जो कोरोनाभाइरस महामारीका कारण देशभरि अचानक लगाइएको लकडाउनका कारण भारत हरियाणाको रोहतकबाट उत्तर प्रदेशको बलरामपुर फर्किनुपरेको थियो।

उनका भनाइमा कोरोनाभाइरस र आफ्नो अस्तित्व सङ्कटको त्रासले त्यो अभूतपूर्व आँट दियो।उनले काम गर्ने कम्पनीमा केही दिनअघि नै बन्द भएको थियो। ठेकेदारलाई फोन गर्दा कुनै सहयोग गर्न नसक्ने उत्तर पाएको उनको भनाइ छ। घरपतिले बस्यो भने भाडा दिनुपर्ने सुनाए। राघोराम भन्छन्, त्यहाँ बस्ने चिनेजानेका केही मानिस घरतर्फ जाँदै थिए र मैले पनि फर्किनु नै उचित देखेँ। गाउँघर पुगेपछि कम्तीमा भोकले त मरिँदैन।

पाँच महिनाअघि उनी रोहतक गएका थिए। ठेकेदारमार्फत् उनले एउटा निजी कम्पनीमा केही दिनअघि काम पाएका थिए। मासिक तलब ९,००० भारु थियो। तर मार्च २७ को बिहान उनी पत्नीलाई लिएर हिँडे। चार दिनपछि अर्थात् ३१ मार्चमा उनी गोन्डा जिल्ला पुगे।

राघोरामका अनुसार रोहतकबाट निस्किँदा उनको खल्तीमा १२० रुपैयाँ मात्र थियो। दुइटा झोलामा केही कपडा र सामानबाहेक अरू केही थिएन। पहिलो पटक साइकलमा यात्रा गरिरहेकाले बाटोबारे पनि जानकारी थिएन।उनी भन्छन्, सोनीपत भन्ने ठाउँसम्म पुग्दा भोकले सताउन थाल्यो। ठाउँठाउँमा प्रहरीले रोके, तर हाम्रो बाध्यता बुझेर छोडिदिए। सोनीपतपछि राजमार्गमा पुगेपछि कतै नअलमलिएर गाजियाबाट, बरेली, सीतापुर, बहराइच हुँदै गोन्डा पुग्यौँ।

त्यहाँको अस्पतालमा स्वास्थ्य जाँचपछि उनलाई घर जाने अनुमति प्राप्त भयो। उनको गाउँ बलरामपुरको रेहरा क्षेत्रमा पर्छ, तर ससुराली गोन्डा जिल्लामा छ। रात परेकाले उनी ससुरालीमै बास बस्न गए। दोस्रो दिन पत्नीका साथ आफ्नो गाउँ पुगे।

उनले यात्रा थालेको हरियाणाको रोहतकबाट बलरामपुरसम्को सडकमार्गको दूरी झन्डै ७०० किलोमिटर छ।राघोरामका अनुसार यति लामो बाटो उनले कहिल्यै साइकल चलाएका थिएनन्। गाउँबाट कहिलेकाहीँ मात्र बलरामपुरसम्म जाने गर्थे।तर कोरोनाभाइरसले ुमनमा यति त्रास उत्पन्न गरिदियोु कि त्यही डरले त्यति लामो बाटो तय गर्ने शक्ति आएको उनी बताउँछन्।

पाँच दिन प्रत्येक घण्टा पाँच(सात मिनेट विश्राम गर्दै लगातार साइकल चलाइ नै रहेको उनको भनाइ छ। उनी भन्छन्, साथमा पत्नी पनि भएकाले लगातार धेरै समय साइकल चलाउन सकिँदैनथ्यो। राति दुई घन्टा आराम गर्थेँ। कहिल्यै कुनै पम्पमा रोकिन्थेँ वा कुनै बन्द पसलको बाहिर आराम गर्थेँ।राघोरामले यात्रा सुरु गर्दा उनीसँग पत्नी मात्र सँगै थिइन्। तर उनलाई बाटोमा आफू जस्तै हजारौँ मानिस भेटिएलान् भन्ने अनुमान थिएन।उनकी पत्नी सीमा भन्छिन्, राजमार्गमा जता हेर्‍यो उतै मानिस मात्र देखिन्थे। कसैको टाउकोमाथि बोरा, कसैको टाउकोमाथि झोला। कोही एक्लै त कोही समूहमा हिँडिरहेका देखिन्थे।

उनीहरूलाई देखेर हाम्रो पीडा कम हुन्थ्यो। हामीसँग साधन थियो, उनीहरूसँग त त्यो पनि थिएन। साइकल नभएको भए पैदल पनि आउनुपर्ने थियो किनकि सबै समस्या लगभग उस्तै थियो।

राघोरामसँग पैसा नभए पनि खानेपिउने केही अत्यावश्यक सामान थिए। तर बाटोमा मानिसहरूले खानेकुरा बाँडिरहेका थिए।उनी भन्छन्, बाटोमा धेरै मानिस थिए, तैपनि सहयोगको निम्ति यति धेरै हातहरू बढेका थिए कि कसैलाई समस्या भएन। तर बाटोमा प्रहरीले रोकिरहेका कैयौँ मानिसहरू र केहीलाई पिटिरहेको पनि देखियो। हामीलाई भने त्यस्तो समस्या भएन।

राघोराम शिक्षित छैनन्। केही वर्षअघि उनको विवाह भएको थियो।केही कमाउन र त्यसबाट घरपरिवार धान्न सकिएला भनेर उनले गाउँ छाडेका थिए। तर एक पटक फेरि त्यही गाउँ उनको गन्तव्य बन्न पुगेको छ जहाँबाट उनी नयाँ र राम्रो गन्तव्य खोज्दै केही महिनाअघि निस्किएका थिए।बीबीसी



प्रतिक्रिया दिनुहोस्