Logo

शोकको घडी नभनी राप्रपा नेता सुनिल थापाले पठाए धनकुटाभर स्वास्थ्य सामाग्री



काठमाडौं, २५ चैत्र । यतिबेला राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रभावशाली नेता सुनिल बहादुर थापा शोकको घडीमा छन् । पूर्व गभर्नर हिमालय शमशेर जबराकी पत्नी एवं उनकी सासु विजयालक्ष्मी राणाको आइतबार ८२ वर्षको उमेरमा निधन भएको छ । शोकको घडीमा पनि थापाले धनकुटा जिल्लाका लागि पीपीइ किट र अन्य स्वास्थ्य सामाग्री पठाएका छन् । हेलिकोप्टर मार्फत् थापाले ती स्वास्थ्य सामाग्री पठाएका हुन् ।

सूर्य बहादुर थापा प्रतिष्ठानको तर्फबाट धनकुटा जिल्ला भरका स्वास्थ्यकर्मीका लागि पिपिइ किट, एम्बुलेन्स चालक र सहायका लागि पिपिइ किटका अलावा मास्क, स्यानीटाइजर, पञ्जा, ह्याण्ड बासहरु उद्योग वाणिज्य महासंघ धनकुटालाई सहयोगी मदन घिमिरेमार्फत् हस्तान्तरण गरेका हुन् ।

थापाले परिवारमा शोक परेको घडीमा आफू स्वयं उपस्थित हुन नसकेपनि सहयोग पुर्याउने दायित्व र कर्तव्य सम्झिएको भन्दै धनकुटा जिल्लावासीको हरेक समस्या समाधान गर्न र सुख दुःखमा साथ सहयोग गर्न आफू र सूर्य बहादुर थापा प्रतिष्ठान सधै तत्पर रहेको बताएका छन् ।

सूर्य बहादुर थापा प्रतिष्ठानले पठाएको स्वास्थ्य सामाग्रीमा स्वास्थ्यकर्मी पीपीइ किट ७४ सेट, एम्बुलेन्स चालक सहयोगी किट २२ सेट, पञ्जा २२ बाकस, स्यानिटाइजर ३० बोतल, डेटोल हेण्डवास ७२ बोतल, डेटोल साबुन ७२ थान, मास्क २००० थान रहेका छन् । ती सामाग्रीहरु धनकुटाका ११ अस्पताल र स्वास्थ्यचौकीका लागि पठाइएको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्