काठमाडौँ, २५ चैत्र। निक साइमन इन्स्टिच्युटले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई १० वटा पोर्टेबल भेन्टिलेटर र एक हजार थान पिपिइ हस्तान्तरण गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई निक साइमन इन्स्टिच्युटका तर्फबाट डा अनिल श्रेष्ठले सामाग्री हस्तान्तरण गरे ।
भेन्टिलेटर र पिपिइ जस्तो महत्वपूर्ण स्वास्थ्य सामाग्री हस्तान्तरण गरेकोमा धन्यवाद दिँदै सबैको प्रयासले कोरोनाविरूद्धको लडाइँमा विजय प्राप्त गर्न सकिने बताए । उनले विपद्को यस अवस्थामा निक साइमन इन्स्टिच्युटले हस्तान्तरण गरेको पोर्टेबल भेन्टिलेटर तत्कालै धनगढी, वुटवल र बागलुङमा दुईरदुई वटाको दरले पठाइने र चार वटा भेन्टिलेटर आकस्मिक प्रयोजनाका लागि तयारी अवस्थामा राखिने जानकारी दिए।
इन्स्टिच्युटका तर्फबाट डा श्रेष्ठले अझै धेरै सहयोग उपलब्ध गराउने कोशिश भइरहेको भन्दै नेपाल सरकारसँग सहकार्य गर्न पाएकोमा खुशी प्रकट गरे । हस्तान्तरण लगत्तै स्वास्थ्य सेवा विभागमा महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले स्वास्थ्य सामाग्री सम्बन्धित जिल्लामा पठाउने काम सुरू भएको जानकारी दिए। पिपिइ यसअघि नै जिल्ला जिल्लामा पठाइएको श्रेष्ठले बताए।