काठमाडौं, २५ चैत्र । समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री ओलीको सम्बोधनबारे आफ्नो असन्तुष्टि व्यक्त गरेका छन् । उनले संकटको घडीमा देशको कार्यकारी प्रमुखले जनतालाई नियमित रुपमा सम्बोधन गर्नु राम्रो भएपनि जनतालाई जीवन वा स्वतन्त्रतामध्ये एक रोज भन्नुचाहीँ आपत्तिजनक भएको टिप्पणी गरे ।
भट्टराईले आफ्नो ट्विटरमा यस्तो लेखेका छन्,”संकटको वेलामा देशको कार्यकारी प्रमुखले जनतालाई नियमितरूपमा संवोधन गर्नु राम्रो हो।तर प्रमले आफ्नो संवोधनमा जनतालाई जीवन वा स्वतन्त्रतामध्ये एक रोज भन्नुचाहिं आपत्तिजनक छ।लोकतन्त्रमा हामीलाई दुवै चाहिन्छ।त्यसरी नै आलोचनालाई वेमौसमी बाजा भन्नु अलोकतान्त्रिक र असहिष्णु प्रवृत्ति हो।”
उता, पूर्वराजा ज्ञानेन्द्र शाहले पनि प्रधानमन्त्री ओलीको सम्बोधनमा आफ्नो बेखशी व्यक्त गरेका छन् । उनले यस्तो लेखेका छन्,”कोरोना संक्रमणको विपतका यस घडीमा आफ्ना नागरिक प्रति सरकारको विशेष चासो हुनु सह्रानीय छ तर आम नागरिकको दैनिक समस्या प्रति सम्बोधन नहुनु निराशाजनक हो। राज्यको करप्रणालीको अति ठूलो हिस्सा दैनिक खानपानको समस्याबाट गुज्रिरहेको छ जसमा सरकारको ध्यान अत्यन्त न्यून देखिनु दुःखद् पक्ष हो ।”