Logo

नेपालमा हुने अन्तर्राष्ट्रिय उडान बैशाख १८ गतेसम्म बन्द गरिने



काठमाडौँ, २६ चैत । सरकारले अन्तर्राष्ट्रिय उडानमा लगाउँदै आएको प्रतिबन्धलाई बैशाख १८ गतेसम्म लम्ब्याएको छ । यसअघि सरकारले बैशाख ३ गतेसम्मका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएको थियो । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मङ्गलबार बसेको बैठकले सो निर्णय गरेको हो ।

बैठकपछि समन्वय समितिका सदस्य सचिव नारायण विडारीले अन्तर्राष्ट्रिय उडानलाई बैशाख १८ गतेसम्मका लागि स्थागित गरिए पनि आन्तरिक उडानको विषयमा केही दिनमा निर्णय आउने जानकारी दिएका छन् । उनले भने, “आन्तरिक उडानको विषय विचाराधीन छ । केही दिनमा टुङ्गो लाग्ने छ ।” उनले बैठकमा कोभिड–१९ सङ्क्रमणबाट जनजीवन र नेपाली अर्थतन्त्रमा पारेको असरबारे राष्ट्रिय योजना आयोगले ‘इम्प्याक्ट स्टडी’ गर्ने निर्णयसमेत भएको जानकारी दिएका छन् ।

बैठकमा कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउनको समीक्षासमेत भएको थियो । प्रधानमन्त्री कार्यालयका सचिव विडारीले दिएको जानकारी अनुसार, लकडाउनका कारण दैनिकी चलाउन समस्यामा परेका एक लाख १४ हजार ३१६ परिवारलाई राहत वितरण गरिएको छ । त्यस्तै, मुलुकभर ३० हजार ५०६ जना क्वारेन्टाइनमा राखिएका छन् । सरकारद्वारा जारी निषेधाज्ञाको उल्लङ्घन गर्ने दुई हजार ६ सय जनालाई सचेत गराएर छाडिएको, दुई हजार २३५ सवारी साधन तथा तिनका चालकलाई कारवाही गरिएको छ ।

बैठकले खाद्य वस्तुलगायत दैनिक उपभोग्य वस्तुको आयातलाई नियमित र व्यवस्थित गर्ने निर्णय गरेको छ । यद्यपि, आवागमनमा कडाई र निगरानी पनि बढाउने भएको छ । उनले कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि मुलुकभरका एक हजार ९३९ एम्बुलेन्सलाई तयारी अवस्थामा राखिएको जानकारी समेत दिएका छन् । उनले कोरोना प्रभावित जिल्लाको रुपमा कैलाली, कञ्चनपुर र बाग्लुङमा द्रूत परीक्षण पद्दति ‘आरडिटी’ मार्फत् परीक्षण गरिने जानकारी दिएका छन् । त्यस्तै, ‘आरडिटी’ परीक्षणमा ‘पोजेटिभ’ देखिएकालाई ‘पीसीआर’ मेशिनबाट विस्तृत परीक्षण गर्ने व्यवस्था मिलाइएको जनाइएको छ । उनले डोटी, जुम्ला र अछाम जिल्लामा पनि ‘आरडिटी’ परीक्षण अगाडि बढाउने जानकारी दिएकाा छन् । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्