काठमाडौँ, २७ चैत । कोरोना विषाणुको सम्भावित सङ्क्रमण रोक्न दुई साताअघि सुरु भएको बन्दाबन्दीपछि वाणिज्य बैङ्कले विद्युतीय कारोबारलाई प्रोत्साहन गर्दै आएका छन् ।
बैङ्क सेवा दिन विगतमा जस्तो कार्यालय खोलेर बस्न नसक्ने, ग्राहकले पनि सेवा लिन बैङ्कसम्म पुग्न नसक्ने हालको अवस्थामा मोबाइल बैङ्किङ, इन्टरनेट बैङ्किङ, कनेक्ट आईपीएस जस्ता सेवामा जोड दिँदै आएका छन् । नगद कारोबारको सट्टा कार्ड प्रयोगमा विभिन्न छुटको घोषणा गरेर ग्राहकलाई प्रोत्साहन गरिरहेका छन् । यतिबेला बैङ्कले जुनसुकै बैङ्कको एटीएमबाट रकम निकाल्न पनि सकिने सुविधा पनि निःशुल्क रूपमा उपलब्ध गराइरहेका छन् । बैङ्कले डिजिटल हेल्प डेक्स राखेर नै पुराना तथा नयाँ ग्राहकलाई विद्युतीय कारोबारमा सहयोग पु¥याउँदै आएका छन् ।
बन्दाबन्दी अघिको तुलनामा यस्ता सेवा लिनेको सङ्ख्या बढिरहेको दाबी बैङ्कको छ । एनआईसी एसिया बैङ्कका डिजिटल मार्केटिङ प्रमुख विनय खड्काले आफ्नो बैङ्कमा बन्दाबन्दीपछि मोबाइल बैङ्किङ २५ देखि ३० प्रतिशतसम्म बढेको बताएका छन् । त्यस्तै दैनिक एक सय जनाभन्दा बढीले अनलाइन मार्फत खाता खोल्न थालेको पनि उनले बताएका छन् । त्यस्तै राष्ट्रिय वाणिज्य बैङ्कमा पनि मोबाइल बैङ्किङ सेवा लिनेको सङ्ख्या बढेको आईटी एन्ड इलेक्ट्रोनिक प्रमुख रिको स्थापित बताउनुहुन्छ ।
बन्दाबन्दीपछि मोबाइल बैङ्किङबाट कारोबार बढेकोे बताएका छन् । हाल ३० हजारभन्दा बढीले मोबाइल बैङ्किङ सेवा लिएको उनले बताएका छन् । उनले मोबाइल बैङ्किङ सेवा लिइरहेका ग्राहकलाई कनेक्ट आईपीएसका लागि पनि प्रयास गरिरहेको बताएका छन् । (गोरखापत्रबाट)