काठमाडौं, २७ चैत्र । कोरोना भाइरसको महामारीले विश्व अर्थतन्त्रमा नराम्रोसँग असर परिरहेका बेला यसले विश्वभर करिब आधा अर्ब जनसंख्यालाई गरिब बढाउने देखिएको छ।
संयुक्त राष्ट्र संघ (यूएन) ले सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदनले महामारीले उत्पन्न गराएको आर्थिक र मानवीय क्षतिका कारण विश्वमा गरिबहरुको संख्या अत्याधिक बढ्न सक्ने चेतावनी दिएको छ।
प्रतिवेदनका अनुसार, विश्वव्यापी रुपमा गरिबी बढेको यो ३० वर्षमा पहिलो पटक हुनेछ।
आगामी हप्ता विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) र जी–२० का अर्थमन्त्रीहरुको महत्वपूर्ण भेला हुन लागेकै बेलामा यस्तो तथ्य बाहिर आएको हो।
महामारीबाट स्वास्थ्य संकटभन्दा पनि आर्थिक संकट झनै गम्भीर हुने बताइएको छ।
प्रतिवेदनका अनुसार, भाइरसका कारण विश्वमा गरिब जनसंख्या ४० देखि ६० करोडसम्म बढ्ने अनुमान छ। यसैगरी, भाइरसको महामारीले सन् २०३० सम्ममा विश्वबाट गरिबी निर्मूल पार्ने संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्यमाथि पनि वास्तविक चुनौती सिर्जना गराएको छ।
महामारी हट्दासम्म विश्वको कुल ७ अर्ब ८० करोड जनसंख्यामध्ये आधा जनसंख्या गरिबीको रेखामुनि रहनेछन्। नयाँ गरीबमध्ये ४० प्रतिशत पूर्वी एशिया र प्रशान्त क्षेत्रमा रहनेछन्। एक तिहाई गरिब भने सब–साहारा अफ्रिका र दक्षिण एशियामा रहने यूएनको प्रतिवेदनले देखाएको छ।
यसै हप्ताको सुरुवातमा विश्वका एक सयभन्दा बढी संघ संगठनहरुले विकासोन्मुख देशहरुका लागि यस वर्षको कर्जा भुक्तानी माफी गर्नका लागि आग्रह गरेको थिए। जसले उनीहरुको अर्थव्यवस्थाको समर्थनका लागि सहायता प्रदान गर्ने बताइएको थियो।- एजेन्सीको सहयोगमा