काठमाडौं, २७ चैत्र । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका एक दर्जन युवा केन्द्रीय सदस्यले विश्वभरि महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि सरकारले ‘लकडाउन’ लम्ब््याएसँगै अन्य थप कार्य गर्न विभिन्न सुझावसहित अपिल गरेका छन्।
काँग्रेस केन्द्रीय सदस्य डा चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, रत्ना शेरचन, गुरुराज घिमिरे, गगनकुमार थापा, बद्री पाण्डे, जीवन परियार, प्रदीप पौडेल, रामकृष्ण यादव, कल्याण गुरुङ र किरण यादवले संयुक्तरुपमा अपिल जारी गरेका हुन्।
उनीहरुले कोरोना भाइरसको रोकथाम र उपचारका लागि लडकडाउनसँगै परीक्षण विस्तार, स्वास्थ्य उपकरण, जनजीविकाका सवाल, विदेशमा रहेका नेपालीका समस्यालगायत विषयमा पनि थप प्रभावकारी काम गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराएका छन्।
सुरक्षाकर्मीको तलबबाट रकम कट्टा गर्ने भन्ने विषयले सुरक्षाकर्मीलाई निरुत्साहित तुल्याउने उल्लेख गर्दै अपिलमा स्वास्थ्यकर्मीलगायत उपचारका लागि खटिने सबैको आर्थिक सुरक्षा र प्रोत्साहनस्वरुप बीमा र यथेष्ठ भत्ताको व्यवस्था गर्न सरकारसँग माग गरिएको छ ।
यसैगरी सड्कटको समयमा खर्च कटौती गर्नका लागि सांसद विकास कोषको रकम कोरोना सङ्क्रमण नियन्त्रण कोषमा राखिनुपर्ने, पूर्वपदाधिकारीले पाउने सुविधा र सुरक्षा कटौती गर्दै जनताको हितमा लगाउनुपर्नेमा युवा नेताले सरकारको ध्यानाकर्षण गराएका हुन् ।
अपिलमा दैनिक ज्याला मजदूरी गर्ने, आर्थिकरुपमा विपन्न र ज्येष्ठ नागरिकका लागि यथोचित राहतको व्यवस्था गर्न, संसारभर रहेका नेपालीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी हासिल गरी आवश्यक सहयोग गर्न आग्रह गरिएको छ । किसान र पशुचौपायाका बारेमा उत्पन्न समस्यालाई गम्भीरतापूर्वक लिइ उपयुक्त कदम चाल्नुपर्नेतर्फ युवा नेताले सरकारको ध्यानाकर्षण गराएका छन् ।
विपद्का बेला सरकारी नेतृत्वले जिम्मेवारपूर्ण अभिव्यक्ति दिनुपर्ने र सङ्कटको मौका छोपी भ्रष्टाचारका घटना भइरहेको आरोप लागेकाले त्यसलाई दण्डीत गर्न काँग्रेसका युवा केन्द्रीय सदस्यको माग छ ।
उहाँहरुले परीक्षणको दायरा र गति बढाउनुपर्ने तथा परीक्षण केन्द्र अविलम्ब थपिनुपर्ने, साथै कोरोना भाइरसबाट सङ्क्रमित व्यक्तिको पहिचानका लागि आवश्यकपर्ने परिक्षणका लागि चाहिने परीक्षण किट, पिपिईलगायतका स्वास्थ्य उपकरण तथा सामग्रीको आवश्यक बन्दोबस्त गर्न सुझाव दिएका छन् ।
विदेशबाट नेपाल आउन चाहने नेपालीलाई सहजै आउने व्यवस्था मिलाइनुपर्ने, उनीहरुलाई क्वारेन्टाइनमा राखिनुपर्ने र आवश्यक स्वास्थ्य परीक्षणको प्रक्रिया पूरा भएपछि मात्र घर जाने व्यवस्था मिलाउन काँग्रेसका युवा नेताको अपिल गरेका छन् ।