Logo

प्रधानमन्त्री कार्यालयले भ्रम फैल्याएको भन्दै प्रेस काउन्सिलले सोध्यो यस्तो प्रश्न



चैत २८, काठमाण्डौ । विहिबार उच्चस्तरीय समन्वय समितिको निर्णय प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयको फेसबुक पेजमार्फत सार्वजनिक गरियो । त्यहाँ सार्वजनिक गरिएको निर्णय शुक्रबार र शनिवार काठमाण्डौ उपत्यका बाहिर जाने व्यवस्था गरिएको भन्ने थियो ।

पछि त्यसमा अपडेट भनी प्रदेश र स्थानीय सरकारले मान्यता नदिएका कारण उक्त निर्णय फिर्ता भएको जानकारी दिइको थियो । तर पछि लेखिएका सबै सूचना डिलिट गरिएको थियो ।

प्रधानमन्त्री कार्यालयकै फेसबुकमा निर्णय राखिएपछि धेरैले विश्वास गरे र समाचार पनि बने । जुन सामान्य थियो । तर पछि एकपछि अर्को गर्दै मन्त्रीहरुले काठमाण्डौ उपत्यका बाहिर जान दिने निर्णय नभएको अभिव्यक्ति दिए भने कतिपय मन्त्रालयले विज्ञप्ति निकालेर समाचारमाथि आरोप लगाए ।

तर केहीबेरपछि प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयको फेसबुक पेज नै गायब पारियो । यसले स्पष्ट हुन्छ कि उक्त समाचार संचारमाध्यमले गलत लेखेको नभै सरकारी संयन्त्रले छलफलमा भएको विषयलाई निर्णय नै भइसकेको झैँ गरी सार्वजनिक गर्यो ।

यसले गर्दा सरकारको चौतर्फी आलोचना भयो । प्रेस काउन्सिल नेपालले पनि प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेजमा बिहीबार प्रकाशित सामग्रीप्रति चासो राख्दै यस्ता विषयमा सतर्क हुन आग्रह गरेको छ ।

विश्वव्यापी स्वास्थ्य संकटकालको यो बेला प्रधानमन्त्री कार्यालयको प्राविधिक भूलका कारण सञ्चारमाध्यममा गलत समाचार सम्प्रेषण भई जनमानसमा पर्याप्त भ्रम सिर्जना हुन गएको काउन्सिलले बताएको छ ।

‘यस्ता गल्ती सच्याउनेतर्फ सकारात्मक र शीघ्र पहलबाट नै आम जनसमुदाय, मिडिया र सरकारलाई विगतका महाभूकम्प, नाकाबन्दीलगायत अप्ठ्यारा कालखण्डमा झैँ अबका जुनसुकै विपत्तिहरू मिलीजुली पार लगाउनमा बल पुग्ने दृढ विश्वास लिइएको छ’ पत्रमा भनिएको छ ।

काउन्सिलले आधिकारिक सूचनाको मूल स्रोतमै पटकपटक छेडखानी हुँदा सरकारी निर्णयको विश्वसनीयतामाथि थप प्रश्नचिन्ह उठ्न गएको तर्फ सचेत हुन प्रधानमन्त्री कार्यालयलाई आग्रह गरेको छ । त्यस्तै आगामी दिनहरूमा गम्भीरताका साथ सतर्कता अपनाउन प्रधानमन्त्री कार्यालयका अधिकारीहरूलाई आग्रह गरेको छ ।



प्रतिक्रिया दिनुहोस्