Logo

बैशाख १ र २ गते सिरहामा लाग्ने सलहेश मेला र महोत्सव नमनाउन पूर्वमन्त्री पासवनको आग्रह



काठमाडौं, २८ चैत्र । पूर्वमन्त्री विश्वेन्द्र पासवानले हरेक वर्ष बैशाख १ र २ गते सिरहाको लहान नगरपालिकाको मुख्य चोकदेखि तीन किलोमिट पश्चिममा पर्ने (पहिलेको पडरिया र शिश्वनी गाविस अहिले लहान ११ र लहान २२ पर्ने) सलहेश फूलवारीमा हारमको रुखमा सुनाखरी फूल फुल्ने विशेषताले गर्दा लाग्ने मेला यो वर्ष नमनाईने जनाएका छन् । पौराणिककालदेखि लाग्दै आईरहेको उक्त मेला तथा महोत्सव यो वर्ष कोराना भाइरसको जोखिम न्यूनिकरणको लागि नेपाल सरकारले लगाएको लकडाउनको पालना गर्नको लागि पनि नलाग्ने भएको पासवानले जनाएका छन् ।

शुक्रबार एक विज्ञप्ती जारी गर्दै उनले भनेका छन्,“हरेक वर्षको बैशाख १ र २ गते सलहेश महोत्सव लाग्दै आईरहेको थियो । पूर्वको झापादेख पश्चिमको कैलाली र कञ्चनपुरसम्मका प्रत्येक पासवानहरुले सलहेश गहवरमा आफ्नै गाउँमा पनि पूजापाठ गर्दै आएको र भक्ता खेल्ने गरेका छन्, यो कामपनि यसपालि नगर्न म आग्रह गर्दछु । भारतका बंगाल, विहार, उत्तरप्रदेश र झारखण्डमा पनि यो चलन छ । पासवानहरु सलहेश जयन्तीको समयमा बैशाख १ र २ गते राजमईसोता, सिरहा, मानिक पकडियागढ, फूलबारी धाम भर्न आउने गरेका छन् । अहिले विश्वव्यापी महामारीको रुपमा कोरोना भाइरस फैलिएकोले त्यसबाट जोगिनको लागि नेपाल र भारत दुवै देशमा लकडाउन भएकोले यो पटकको बैशाख १ र २, वा सोभन्दा अगाडि वा पछाडि महोत्सव र जयन्तीको नाममा कुनैपनि काम नगर्न र नगराउन म विनम्र आग्रह गर्दछु ।”

उनले यसपटक धामी, झाँत्रीलगातका पूजारीलाई समेत बाहिर नआउन आग्रह गरेका छन् । उनले भने,“सरकारको आदेशको पालना गरौं । कोरोनाविरुद्धको यो लडाईमा हामीले सरकारलाई साथ दिनुपर्छ । आफ्नो र अरुको स्वास्थ्यको ख्याल गरेर हामीले कुनैपनि भीडभाड गर्नुहुँदैन् । यसपालिको यो महोत्सव हामी अर्को वर्ष धुमधामका साथ मनाउँला । यदि गर्नैपर्ने हुँदा असार मसान्तसम्म पूजापाठ गर्नेगरि तयारी गरौं । तर, नाँच र मेला महोत्सव नगर्न म आग्रह गर्दछु ।”

त्यस्तै, उनले यो वर्षको महोत्सवमा कुनैपनि रमाईलो नगर्न र भीडभाड नगर्नको लागि पनि आम श्रद्धालु तथा भक्तजनमा आग्रह गरेका छन् । उनले भनेका छन्,“नेपाल सरकारको लकडाउनको आदेशलाई सबैले पूर्ण पालना गर्नुपर्छ । र भारत सरकारको पनि लकडाउनको पूर्ण पालना गर्न सबैलाई आग्रह गर्दछु ।”



प्रतिक्रिया दिनुहोस्