Logo

क्वारेन्टाइनको अनुगमन गरिने



काठमाडौँ, २९ चैत । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले उपत्यकाका १८ वटै स्थानीय तहमा क्वारेन्टाइनको व्यवस्थापनका विषयमा शुक्रबार छलफल गरेको छ । सरकारले क्वारेन्टाइन व्यवस्थापन तथा सञ्चालन कार्यविधि अनुसार स्थानीय तहले काम गरे नगरेको विषयमा अनुगमनसमेत थालिने जनाइएको छ ।

मन्त्रिपरिषद् बैठकले राज्यमन्त्री मानन्धर र स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतलाई अनुगमन र सहजीकरणको जिम्मेवारी दिएको थियो । राज्यमन्त्री मानन्धरले उपत्यकाका १८ वटै नगरप्रमुख, तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा नेपाली सेनाका क्वारेन्टाइन व्यवस्थापनमा खटिएका पृतनापतिसँग छलफल गरेको हो । छलफलमा राज्यमन्त्री मानन्धरले क्वारेन्टाइन व्यवस्थापन तथा सञ्चालनबारे जानकारी लिन शनिबारदेखि अनुगमन गरिने जानकारी दिएको राज्यमन्त्री मानन्धरको सचिवालयले जनाएको छ ।

राज्यमन्त्री मानन्धरले विपद्को सामना गर्न स्थानीय तहले गम्भीर तयारी गर्नुपर्नेमा जोड दिएको छ । उनले उपत्यकाको क्वारेन्टाइनको अवस्था र तयारीबारे दुई दिनभित्र मन्त्रिपरिषद्लाई जानकारी दिनुपर्ने बताएका छन् । हालसम्म भक्तपुरको कृषि तालिम केन्द्रमा ६० बेड, खरिपाटीमा १७५ बेड तथा खानेपानी तालिम केन्द्रमा ७० बेडको क्वारेन्टाइन तयारी अवस्थामा रहेको छ । यस्तै, ललितपुरस्थित स्टाफ कलेजमा एक सय बेड तथा काठमाडौँको पशुपतिमा ७० बेड क्षमताको क्वारेन्टाइन रहेको छ । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्

Screenshot