Logo

‘भारतीय विस्तारवाद’ र ‘अमेरिकी साम्राज्यवाद’ भन्दै विरोध नगरी कम्युनिस्टहरुलाई खाएको पच्दैन- पूर्व राजदूत उपाध्याय



काठमाडौं, २९ चैत्र । भारतका लागि पूर्व राजदूत समेत रहेका नेपाली काँग्रेसका नेता दीपकुमार उपाध्याय कोरोना भाइरसविरुद्धको संघर्षमा भारतसँगको सहकार्य अनिवार्य रहेको बताएका छन् । उनले भारतसँगको अन्यौन्याश्रित सम्बन्धलाई मनन गरेर सहकार्यबाट समान समस्यालाई साझा समस्या मानेर बढ्नुपर्नेमा जोड दिएका छन् । उपाध्यायसँग यीनै सेरोफेरोमा ऋषि धमलाले गरेको कुराकानीः
कोरोनाविरुद्ध सरकारले कस्तो कदम चाल्नुपथ्र्यो, त्यसमा तपाईंको सुझाव के छ ?
म पनि लकडाउनको बेलामा यतै आएको थिएँ । अहिले आफ्नै घरमा अनुशासित ढंगले बसेको छु । सम्पूर्ण नेपाली जनतालाई पनि आफ्नै घरमा सुरक्षित ढंगले बस्न आग्रह गर्दछु ।
लकडाउन गरेर सरकारले चालेको कदम ठीक छ ?
यो वाध्यता पनि हो । यो एउटा मानवीय कुरा पनि हो । यसमा समयमै सजगता अपनाएको राम्रो हो । अहिलेसम्म नेपालमा त्यति संक्रमण देखिएको छैन । यदि फैलियो भने हाम्रोजस्तो सबै चिजको अभाव भएको मुलुकमा त्यसबाट जोगिन धेरै गाह्रो हुन्छ । यो समस्या लम्बिँदै गयो भने वैदेशिक रोजगारीमा रहेका धेरै नेपालीहरु आउन सक्छन् । त्यतिबेला चाहीं कसरी सुरक्षित गर्ने भन्ने समस्या देखिन सक्छ । यस्ता श्रमशक्तिलाई अरुले उपयोग गर्छन् । हामीले चाहीं यस्ता शक्तिहरुलाई भिजन र कार्यक्रम नभएर उपयोग गर्न सकेका छैनौं । हिजो यसरी रोजगारीका लागि बाहिरएका जनशक्तिहरु आफ्नै देशमा उपयोग गर्न सकिन्छ । त्यसको बारेमा सरकारले गम्भीर भएर सोच्नुपर्छ ।
अहिलेको अवस्थामा लकडाउन गर्नुनै उपयुक्त उपाय हो भन्ने तपाईंको निष्कर्ष हो ?
हामीसँग पूर्वीय दर्शन बोकेको संस्कृति, सभ्यताले पनि धेरै काम गरेको छ । त्यसपछि भौगोलिक अवस्थाअनुसारका प्राकृतिक सौन्दर्य, त्यसैगरी हावापानी, हरियाली यो सबैलाई हेर्दा गौरव पनि लाग्छ । त्यसैगरी हाम्रा भान्छामा परम्परागत तारिकाहरु । दैनिक खानपानमा प्रयोग हुने अदुवा, लसुन, प्याज, खुर्सानी, बेसार, टिमुर, सागपातलगायतका अन्य तरिकारीहरु पनि महत्वपूर्ण रहेछन् भन्ने देखाउँछ । अनि गाउँघरमा खाना खाने तरिकाहरु । प्रयोग हुने परिकारहरु । प्रयोग गर्ने तौरतरिकाले पनि अहिले आएर मानव र प्रकृतिसँग जोडिएको वैदिक विधि र सभ्याताको चुरो सावित भएको छ । हिजो हामीले भन्ने गरेका जति पश्चिमी भौतिक विज्ञान, प्रगति, ऐस आराम, सुविधासम्पन्न चिजहरुको जति कुरा गरिएको थियो आज आएर ती सबै चिजहरु एउटा भाइरससँग निरीह सावित भएको अवस्था छ । यस्तो बेलामा पनि ती संस्कृति, सभ्यतालाई समुदायसामु जागृत गर्ने, परिभाषित गर्ने र समाजमा स्थापित गर्ने बारेमा पछि परिराखेका छौं । मान्छेले एउटा बालकालाई योग्य युवा बनाउन कति लगानी गरेको हुन्छ । उसले यस्तो महत्व बोकेको देशमा भविष्य नदेखेर विदेशिन वाध्य भएको छ । प्राकृतिक रुपमा अत्यन्तै अनुकुल मुलुकमा खाद्यान्त बाहिरबाट आयात गर्नुपर्ने छ । अब यस्ता कुरालाई ध्यान दिएर आफ्नो देशलाई खाद्यान्न यहीको उत्पादनबाट आत्मनिर्भर हुने अवस्थाको सिर्जना गर्नुपर्छ । अहिले त साग, सब्जीदेखि फलपूmलसम्म सबै भारतबाट आयात गर्ने स्थिति देखिएको छ । आफ्नै देशमा उत्पादन भएका तरकारीजन्य खाद्यान्नहरु विश्वको विज्ञानले पनि अब्बल सावित गरेको अवस्था छ । फेरि विश्वलाई नियाल्दा जनसंख्याको हिसावले पनि नेपाल उपयुक्त छ । हावापानीदेखि भौगोलिक दृष्टिकोणले पनि उपयुक्त छ । उत्पादनका दृष्टिले पनि सबैभन्दा राम्रो मानिन्छ । अहिलेको अवस्थालाई हेर्ने हो भने नेपालले फलफुल, तरकारी र आद्यान्नमा एकदमै ध्यान पु¥याउने । आफ्नै देशको उत्पादनले खान पु¥याउने कुरामा एदमै ध्यान दिन जरुरी छ ।
भारतीय प्रधानमन्त्री र नेपालका प्रधानमन्त्रीबीच कोरोनाविरुद्ध सशक्त रुपमा मिलेर लड्ने भनेर वार्ता भएको छ, यो प्रभावकारी होला ?
कुटनीतिक दृष्टिकोणले त राम्रो बनाउनुपर्छ । राजनीतिक सिद्धान्तमा फरक होला तर कुटनीतिक सम्बन्ध त आफ्नो देशको हितमा कसरी हुन्छ त्यसलाई राम्रो बनाउनुपर्छ । जसरी नेपाल र भारतबीचको सम्बन्धको कुरा लाखौं नेपालीहरु भारतमा छन् । नेपालमा पनि भारतीय छन् । त्यसैले नेपालमा बसेका भारतीय हुन् या भारतमा बसेका नेपाली हुन् । उनीहरु आफ्नै घरपरिवार जस्तै गरी बस्ने एउटा मानवीय स्वाभाव पनि छ । त्यसैले दुवै प्रधानमन्त्रीहरुले नेपालीलाई भारतमा र भारतीयलाई नेपालमा कुनै किसिमको समस्या हुँदैन भनेर खानपान, औषधि उपचार बराबर गर्नुपर्छ । त्यो मानवीय स्वभावभित्र पर्ने कुरा हुन् । यति हुँदाहुँदै पनि विभिन्न उपाय गरेर भारतबाट मान्छेहरु आउने क्रम रोकिएको छैन ।
त्यसोभए भारतबाट मान्छेहरु आइरहेका छन् हो ?
नेपालबाट पनि गइराखेका छन् । भारतबाट पनि आइराखेका छन् । दुवैतिरका बराबरजस्तै छन् । यो मानव स्वभाव हो । यहाँ सरकारले भनेर मात्रै हुँदैन । मान्छे आफ्नो परिवारसँग सँगै बस्न चाहन्छ । कामै छैन भन्दा पनि आफ्नो परिवारसँग सँगै मरौसँगै बाँचौं भन्ने हुँदोरहेछ । यस्तो खालको मानवीय सम्वेदशीलताको पक्षलाई दुई सरकारहरुले बुझ्नुपर्छ । अहिले अब औषधि उपचार गर्ने, क्वारेन्टाइमा राख्ने दुवैतिर व्यवस्था छ सैद्धान्तिक रुपमा । तर, व्यवहारिक रुपमा मान्छे त्यति गरेर मात्रै सन्तुष्ट छैन ।
तपाईं त भारतमा राजदूत भइसक्नुभएको हो, सीमामा रहेका नेपालीलाई स्वदेश ल्याउनुपर्छ भन्न खोज्नुभएको हो ?
उनीहरुको दुःख देख्दा साच्चिकै मन दुःखेर आउँछ । मान्छेहरु दिल्लीदेखि आफ्नो घर फर्किन हिँडेर आइरहेको छ । त्यस्ता मान्छेहरु जति टाइट गरेपनि केही न केही छिरिहाल्छन् । त्यसैले नेपालबाट भारत जाने र भारतबाट नेपाल आउने क्रम चलिरहेको छ । यसलाई मानव स्वभावबाट लिनुपर्छ । र, दुवै सरकार व्यवहारिक हुनुपर्छ । यतिबेला पार्टी ठूलो कि मान्छे ठूलो हो भन्ने कुरा सरकारमा हुनेहरुले बुझ्न जरुरी छ । एउटा कुरा नेपाल र भारतबीचको जुन सम्बन्ध छ । अझ खासगरी प्रधानमन्त्री मोदीजीको अत्यन्तै राम्रो छ । तर, भारतका प्रशासकहरु अति निर्मम भएर उत्रिरहेका हुन्छ । किन भने नाकाबन्दीका बेला त म उहीं थिएँ । भारतीय विस्तारवाद र अमेरिकन साम्राज्यवादको विरोध नगरीकन नेपालका कम्युनिस्टहरुको खाजा खाएको पच्दैन भन्ने उनीहरुको दृष्टिकोण छ । त्यसैले भारत र नेपालका जनता र नेताहरुबीच सम्बन्ध सुमधुर छ । तर, प्रशासनिक दृष्टिकोणले फेरि त्यो पाइँदैन ।
केपी ओली प्रधानमन्त्री भइसकेपछि भारतसँग सम्बन्ध राम्रो छैन र ?
होइन कुटनीतिक रुपमा नराम्रो भनेको होइन । नाकाबन्दीकै बेलालाई हेर्दा पनि व्यवहारिक रुपमा त्यति राम्रो भएको पाइँदैन जति हुनुपथ्र्यो ।
तर, बेलाबेलामा सम्वादहरु त भइराखेको छ नि ?
बोलीमा मात्रै भएर भएन । नेपाली जनताले अनुभूति हुने गरी परिणाम देख्नुपर्छ । भारतका जनताले पनि नेपालबाट आशा गरेको के हो भन्ने कुरा अनुभूति हुनुपर्छ । त्यसरी देशको धेरै भूभाग जोडिएको, संस्कार, संस्कृति, परम्परा सबै मिलेको हुँदाहुदै पनि जनताले त्यो अनुभूति पाउन सकेका छैन । त्यसैले भारत र नेपालको सम्बन्धको बारेमा दुवै पक्ष बसेर भारतप्रति नेपालको समस्या र नेपालप्रति भारतको समस्याको बारेमा गम्भीर भएर छलफल गर्नुपर्छ । यत्ति कुरामा समाधान जोख्न सकियो भने धेरै कुरामा अवसरहरु आउने थिए ।
भारतले औषधि दिने भयो नि ?
अहिलेको अवस्थामा यो मानवीय कुरा हो । अहिले त कुनै धर्म, जाति, पार्टी, सिद्धान्त, वर्ग, वर्ण छुट्ट्याउने बेला छैन । सम्पूर्ण मानव जातिको कल्याणको लागि काम गर्नुपर्छ । सबैले मानवमात्रको लागि एकजुट भएर काम गर्नुपर्ने सबैको दायित्व हो । त्यसमा औषधि दियो भन्ने कुरा आउँदैन । यो समष्टिमा नेपाल–भारतको सम्बन्धको कुरा हुन्छ । यदि मोदीजीले सहयोग गर्न तयार छु भन्नुभयो भने हाम्रोतर्पmबाट त्यो लिन प्रयास हुनुप¥यो । यदि समस्या छन् भने राजनीतिक तहबाट समाधान गर्नुपर्छ । व्यक्ति–व्यक्तिमा ठीक छ । तर, प्रशासकिन तहबाट धेरै झन्झटहरु आउने गरेका छन् । त्यसलाई राजनीतिक तहबाट वाधाअड्काउन फुकाएर तल्लोतहसम्म जानकारी गराउनुपर्छ । त्यो भयो भने धेरै हदसम्म सहज हुन्छ ।
अहिलेको अवस्थामा ओली र मोदीको सम्बन्ध कस्तो पाउनुहुन्छ ?

उहाँहरुबीचको सम्बन्ध राम्रो छ । तर, म अझै राम्रो होस् भन्ने चाहन्छु । त्यस्तो खालको सम्बन्धले मात्रै आजको युगमा काम गर्दैन । त्यो त सबैले प्रस्ट रुपमा देखेको कुरा हो । त्यसलाई सहज बनाउन नेपालमा ज्ञान, सीप, अनुभव हासिल गरेका मान्छेहरुबाट एउटा दृष्टिकोण बनाउनुपर्छ । परिणामुखी भएन भने त्यो सम्बन्धलाई नेपाली जनताले बुझ्न सक्दैननन् ।
त्यसोभए कोरोना भाइरसविरुद्ध लड्न नेपाल–भारत सम्बन्ध राम्रो हुनुपर्छ हो ?
त्यो त हुनुपर्छ । जस्तो भारतीय प्रधानमन्त्रीले सार्कको विषयलाई लिएर कारोनाविरुद्ध एकभएर लड्ने कुरा गर्नुभयो । त्यसको लागि सार्कले अहिलेको माहामारीमा नयाँ दृष्टिकोण, नयाँ बाटो अपनाउन सकोस् भन्नुभयो त्यो अत्यन्तै राम्रो कुरा हो । त्यसलाई आफ्नो भनाइ र दृष्टिकोण बनाउने पहल हाम्रो हो नि । त्यसलाई हाम्रा यी समस्या छन् त्यसलाई सम्वोधन हुने गरी तपाईंहरुले काम गर्नुपर्छ भन्ने स्पष्ट दृष्टिकोण त हुनुप¥यो नि ऋषिजी । भारतलगायत जोसँग भए पनि हाम्रा समस्या यी–यी हुन् भनेर हाम्रो दृष्टिकोण त प्रष्ट पार्न सक्नुपर्छ । त्यो हाम्रो हाम हो । यतिबेला सम्पूर्ण प्रतिपक्षहरुले पनि सहयोग गर्छु भनेको छ । यस्तो मौका सरकारलाई कहिल्यै आउँदैन त्यसैले यसको सदुपयोग गर्न सक्नुपर्छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्