Logo

भौतिक पूर्वाधारमन्त्री फुयाँलद्वारा छैमले, भीमफेदी–कुलेखानी सडकको अनुगमन



हेटौँडा, २९ चैत : वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले सङ्घीय राजधानी काठमाडौँसँग जोड्ने भीमफेदी–कुलेखानी निर्माणाधीन सडकको आज स्थलगत अनुगमन गरेका छन् ।

उनले काठमाडौँ जिल्लास्थित छैमलेदेखि कुलेखानीसम्मको सडक विस्तारको अनुगमन गरे अवसरमा मन्त्री फुयाँलले निर्माण व्यवसायीलाई आफ्ना लागि मुनाफा मात्र नहेरेर जनताका लागि गुणस्तरीय सेवा दिनेतर्फ ध्यान दिन निर्देशन दिए ।

उनले वाग्मती प्रदेश सरकारले त्रिभुवन राजपथको नौबिसेदेखि सिमभञ्ज्याङसम्म र ललितपुरको चापागाउँदेखि हेटौँडासम्म जोड्ने कान्तिराजपथलाई आगामी आर्थिक वर्ष २०७७÷०७८ को फागुन मसान्तभित्रमा सडकको विस्तार कालोपत्र गर्ने कार्य सम्पन्न गर्नेतर्फ पनि सरकारले सम्बन्धित व्यवसायीलाई ताकेता गरिसकिएको जानकारी दिए ।

मन्त्री फुयाँलले भीमफेदीदेखि देउरालीसम्मको आठ किलोमिटर सडक विस्तारित कार्यका लागि रु १७ करोड र देउरालीदेखि कुलेखानीसम्मको साढे सात किलोमिटर सडक विस्तारतर्फ रु १५ करोडमा एक निर्माण कम्पनीलाई टेन्डर आह्वान गरी काम गर्न स्वीकृति दिएको बताएका छन् । ती विस्तारित सडकमा सडक फराकिलो, ढल र टेवा पर्खालको निर्माण र कालोपत्रसम्म गर्ने गरी आगामी फागुन मसान्तभित्र निर्माण कार्य सम्पन्न गर्ने गरी स्वीकृति दिइएको भौतिक पूर्वाधार विकास मन्त्रालय वाग्मती प्रदेशले जनाएको छ ।

त्रिभुवन राजपथको भीमफेदी गाउँपालिका–१ सुपारीटारबाट सिमभञ्ज्याङसम्म सडकको विस्तार र कालोपत्र गर्ने कार्यको काम अहिले तीव्ररुपमा थालनी भएको भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले बताएका छन् ।

उनले साँघुरो मोडमा बाटो फराकिलो गर्ने ढलको निकास, टेवा पर्खालको निर्माण र कालोपत्र गर्ने अभियानलाई प्रत्यक्ष अनुगमन गर्न गाउँपालिकाले आफ्नो जनप्रतिनिधि खटाइसकिएको पनि जानकारी दिए । भीमफेदी गाउँपालिकाले जनाएअनुसार सिमभञ्ज्याङसम्मको कालोपत्र र सडक विस्तारका कार्य आगामी फागुन मसान्तभित्र सकिसक्नुपर्ने छ । File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot