Logo

कतै विश्व व्यवस्थामा नै उथलपुथल त हुने होइन ?



काठमाडौँ, ३० चैत । कोरोना भाइरस ‘कोभिड १९’ का कारण अर्थतन्त्र कमजोर हुँदै गएपछि अहिले नै विश्वका कैयौँ कम्पनीले कर्मचारी व्यापक कटौतीका सूचना दिइरहेका छन् ।

अन्तर्राष्ट्रिय श्रम संगठन, आइएलओले शुक्रबार कोरोना भाइरसका कारण विश्वमा १ अर्ब २५ करोड मानिसको रोजगारी जोखिममा रहेको बताएको छ । उसको प्रतिवेदनअुनसार यीमध्येका धेरै मानिस भोलि पनि कामविहीन बन्न सक्छन् । उक्त प्रतिवेदनमा अहिले नै पूर्ण या आंशिक रुपमा करिव २ अर्ब ७० करोड कामदार प्रभावित भइसकेको उल्लेख छ । विश्वको तथ्याङ्क हेर्दा काम गर्ने समग्र जनशक्तिको यो ८१ प्रतिशत हुन आउँछ । अमेरिकामा मात्र ४३ प्रतिशत मानिस वेरोजगार हुनसक्ने यस प्रतिवेदनले देखाएको छ । तर यो समस्यालाई अल्पकालीन भनिएकोले लामो समय त्यस्तो नहुने आशा गर्न सकिन्छ । तर अहिले नै कामविहीन भएको यो जनशक्तिले आगामी दिनहरुलाई पनि प्रभाव भने पार्ने देखिन्छ ।

त्यसैगरी, अन्तर्राष्ट्रिय मुद्रा कोषले १७० देशको प्रतिव्यक्ति आय घट्ने प्रक्षेपण शुक्रबार नै गरेको छ । यसअघि १ सय ६० देशको प्रतिव्यक्ति आम्दानी बढ्ने प्रक्षेपण गरेको उसले कोरोनाको कहर शुरु भएपछि पुनः यस्तो प्रक्षेपण गरेको हो । कोरोनाको कहर चौतर्फी देखिएपछि आइएमएफले आफ्नो अघिल्लो प्रक्षेपण उल्ट्याएर यो नयाँ जारी गरेको हो । आइएमएफकी प्रवन्ध निर्देशक क्रिस्टालिना जर्जिभा विश्वभरको सरकारले ८० अर्ब डलरको आर्थिक सहायता प्याकेज घोषणा गरेको बताउनुभएको छ । ‘कोरोनाले सन् २०२० मा सङ्कट ल्याउनेछ भन्दै यदि अहिलेकै अवस्था लामो समय नभई सामान्य हुँदै गएमा सन् २०२१ मा विश्वको आर्थिक अवस्था सामान्य रुपमा सुधारतर्फ जानेछ उहाँको भनाइ छ । यसअघि मार्चको अन्तिमतिर मुद्रा कोषले विश्व अर्थतन्त्र आर्थिक मन्दीमा प्रवेश गरिसकेको घोषणा गरेको थियो । विश्वभर फैलिएको कोरोना भाइरस को महामारीका कारण विश्व अर्थतन्त्र मन्दीमा गएको घोषणा उसले उतिबेलै गरेको हो ।

निर्देशक जर्जिभाले यो आर्थिक मन्दी सन् २००९ मा देखिएको आर्थिक मन्दीभन्दा पनि खराब हुने अनुमान गरिएको बताउनुभएको थियो । विश्वको अर्थतन्त्र ठूलो सङ्कटतर्फ अघि बढेको आँकलन गर्दै उहाँले यसबाट पार पाउन विशेषगरी विकसित मुलुकले अझै धेरै आर्थिक सहायता कोषहरु खडा गर्नुपर्ने सुझाव दिनुभएको थियो ।  भाइरसको प्रकोप बढ्दै गएपछि त्यसलाई नियन्त्रण गर्न विश्वका कैयौँ देशले लक डाउनको घोषणा गरेबाट अर्थतन्त्र धर्मराएको कोषले आँकलन गरेको थियो । बेरोजगारीको समस्या अचानक बढ्दो क्रममा रहेको र अर्थतन्त्रमा पर्ने नकारात्मक असर न्यूनीकरण गर्न विश्वभर आर्थिक गतिविधि अचानक ठप्प भएको कारण बजारलाई सन्तुलनमा ल्याउन कम्तीमा २५ खर्ब डलर आवश्यक रहेको बताएकी उहाँले शुक्रबार अवस्था झनै बिग्रिएको आँकलन गर्नुभएको छ । यी आर्थिक आँकलनहरु महामारी केन्द्रित नै हुन् । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्

Screenshot