Logo

कोरोना महामारी–१७ लाख ७३ हजार संक्रमित, अमेरिकामा मृतक २० हजार नाघ्यो



काठमाडौं, ३० चैत । विश्व स्वास्थ्य संगठनले महामारी घोषणा गरेको कोभिड–१९ बाट एक लाख आठ हजार संक्रमितको मृत्यु भएको छ । विश्वब्यापी रुपमा १७ लाख ७३ हजार ३५८ जना संक्रमित भएका छन् ।

कोभिड–१९ संक्रमणको विश्वब्यापी तथ्याङ्क दत्र्ता गर्दै आएको अमेरिकाको जोन हप्कीन्स विश्वविद्यालयका अनुसार कोभिड–१९ बाट मृत्यु हुनेको संख्या एक लाख आठ हजार ७०२ जनाको मृत्यु भएको छ । भाइरसको संक्रमणबाट संयुक्त राज्य अमेरिकामा विश्वमै सबैभन्दा बढी मृत्यु दत्र्ता गरिएको छ । यसअघि इटाली सबैभन्दा बढी प्रभावित थियो । इटालीमा आइतबार बिहानसम्म १९ हजार ४६८ जनाको मृत्यु भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार अमेरिकामा आइतबार बिहानसम्म कोरोनाभाइरस संक्रमणबाट अमेरिकामा २० हजार ३८९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा एक हजार ७२० जनाको मृत्यु भएको हो । अमेरिकामा शनिबार एकैदिन दुई हजार २५६ जनाको मृत्यु भएको थियो । तर पछिल्लो २४ घण्टामा मृतकको संख्यामा कमी आएको छ भने दैनिक संक्रमित हुनेको संख्यामा पनि कमी आएको छ । अमेरिकाको न्युर्योक शहरमा मात्रै छ हजार ३६७ जनाको मृत्यु भएको छ ।

शनिबार ३५ हजार नयाँ संक्रमित थपिएकोमा आइतबार करिब २७ हजार नयाँ संक्रमित थपिइ अमेरिकामा कोभिड–१९ को संक्रमण पुष्टि भएकाको संख्या पाँच लाख २७ हजार १११ पुगेको छ । अमेरिकापछि स्पेनमा सबैभन्दा बढी संक्रमित दत्र्ता गरिएको छ । स्पेनमा आइतबार बिहानसम्म एक लाख ६३ हजार २७ जनामा संक्रमणको पुष्टि भएको छ भने १६ हजार ६०६ जनाको मृत्यु भएको छ । स्पेन र इटालीमा दैनिक मृत्यु हुनेको संख्यामा कमी आएको छ । स्पेनमा आइतबार ५२५ जनाको मृत्यु भएको छ । फ्रान्समा मृतकको संख्या १३ हजार ८३२ दत्र्ता गरिएको छ । फ्रान्समा संक्रमणको पुष्टि भएका एक लाख ३० हजार छन् । पछिल्लो चौबिस घण्टामा फ्रान्समा ६३५ जनाको मृत्यु भएको छ । फ्रान्सभन्दा बढी संक्रमित इटालीमा छन् ।

इटालीमा संक्रमित हुने एक लाख ५२ हजार २७१ जना रहेको विश्वविद्यालयले जनाएको छ । शनिबारको अपेक्षा पाँच हजार नयाँ संक्रमित थपिएका छन् । इटालीमा पछिल्लो चौबिस घण्टामा ६१९ जनाको मृत्यु भएको छ । शनिबार एकैदिन ६४९ जनाको मृत्यु भएको थियो ।
जर्मनीमा संक्रमितको संख्या एक लाख २५ हजार पुगेको छ । अमेरिका र यूरोपेली राष्ट्रभन्दा जर्मनीमा भाइरस संक्रमितको मृत्युदर अत्यन्तै कम रहेको छ । जर्मनीमा दुई हजार ८७१ जनाको मृत्यु भएको छ । नेदरल्याण्ड्समा दुई हजार ६४३ जनाको मृत्यु भएको छ ।
बेलायतमा ७९ हजार ८३३ जनामा कोभिड–१९ संक्रमणको पुष्टि भएको छ ।

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनमा पनि संक्रमणको पुष्टि भई समस्या जटिल भएपछि आईसीयूमा भर्ना गरिएको थियो । बेलायतमा नौ हजार ८७५ जनाको संक्रमणबाट मृत्यु भइसकेको छ । मध्यपूर्वको इरानमा कोभिड–१९ संक्रमित ७० हजार नाघेको छ । इरानमा कोभिड–१९ बाट संक्रमित चार हजार ३५७ जनाको मृत्यु भएको छ । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्

Screenshot