Logo

ओलीसामु नेकपाका शीर्ष नेताहरु निरिह



काठमाडौं, ३० चैत्र । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले महामारीको रोकथामका लागि सर्वपक्षीय संयन्त्रको प्रस्ताव गर्दा त्यसलाई अर्का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले ठाडै अस्वीकार गरिदिए । शनिबार मुख्यमन्त्रीहरुसँगको भिडियो कन्फरेन्समा अहिलेको संयन्त्र हुँदा हुँदै अर्को संयन्त्र आवश्यक छैन भनिदिए । यो भनाईलाई उनका प्रेस सल्लाहकार सुर्य थापाले योजनावद्ध तरिकाले बाहिर ल्याए जुन प्रचण्डलाई धक्का दिन खोजिएको सन्देश थियो ।

ओलीले प्रचण्डलाई एकपछि अर्को निर्णयमा निरिह देखाउन खोजिरहेका छन् । कतिपय नियुक्ति र निर्णयमा प्रचण्डको केही चल्दैन भन्ने देखाइरहेका छन् । जुन डिआइजी बढुवा देखि अन्य महत्वपूर्ण नियुक्तिहरुमा समेत देखिएको छ । आफ्ना सामु नेकपाका अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल देखि उपाध्यक्ष वामदेव गौतमसमेत मिल्दा पनि कमजोर छन् भन्ने सन्देश ओलीले पछिल्लो निर्णय र अभिव्यक्तिबाट देखाइदिए । उल्टै पेलेर जाने नीति लिए ।

नेपाल कम्युनिस्ट पार्टीमा निकै दबाबका बीच गत हप्ता सचिवालय बैठक बस्यो । बैठक बस्नु अघि ओलीइतरका नेताहरुले तयारी छलफल समेत गरेका थिए । ओलीलाई सचेत गराउने सम्मको तयारी गरेका थए । साँढे ४ घन्टा बसेको बैठकमा सरकारको चर्को आलोचनामा अधिकांश सचिवालय सदस्यहरुले समय खर्चिए । औषधी खरिद प्रकरणको विवाद देखि सेनालाई औषधी खरिदको जिम्मा दिन लागेको विषयहरु समेत उठे । पार्टीको निर्णय अनुसार सरकार चल्नुपर्नेमा नचलेको विषय पनि उठ्यो ।

प्रधानमन्त्री समेत रहेको नेकपा अध्यक्ष केपी शर्मा ओलीप्रति अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम खनिएका थिए । सचिवालय सदस्य ईश्वर पोखरेल ओलीको बचाऊमा प्रस्तुत हुँदा महासचिव विष्णु पौडेलले मध्यमार्गी कुरा गरे । रामबहादुर थापा बादल र प्रवक्ता नारायणकाजी श्रेष्ठले केही समिक्षात्मक कुरा मात्र राखे ।

बैठक बस्यो समिक्षा भयो तर प्रधानमन्त्री ओलीले नेकपाका हेभिवेटहरुलाई निरिह जस्तै बनाइदिए । सरकारको महत्वपूर्ण निर्णय देखि नियुक्तिसम्ममा हेभिवेट नेताहरुको कुनै भूमिका नहुने गरी एकलौटी रुपमा अगाडि बढे । १० डिआइजी बढुवामा ओली पूरै हावी भए । पूर्व माओवादीका नेता बादलले सम्हालेको गृह मन्त्रालयमा ओलीले जे भन्छन् त्यही मात्र भइरहेको छ । डिआइजी बढुवामा प्रचण्डले भनेका एसएसपीहरुको नाम काटियो ।

गभर्नर नियुक्ति पनि ओलीकै इच्छाभन्दा बाहिर गएन । ओलीले रुचाएका डा. युवराज खतिवडाले भने अनुरास महाप्रसाद अधिकारी गभर्नर बने । नेकपाका कुनैपनि हेभिवेटको सिफारिशले काम गरेन ।

औषधी खरिद प्रकरण विवादमा परेपछि ओलीकै निर्देशन अनुसार सेनालाई जिम्मा दिइएको छ । यसमा नेकपाकै केही हेभिवेट नेताहरुको विरोध आएपनि ओलीले टेरेका छैनन् । उनी नेकपाभित्र एकछत्र प्रभाव रहेको सन्देश दिदै पेलेरै जाने रणनीतिमा देखिन्छन् ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot