वीरगञ्ज, ३० चैत्र । दिल्लीको निजामुद्दीनमा तवलिगी जमातको १३ देखि १५ मार्चमा भएको चार हजारभन्दा बढीको भेलामा सहभागीहरुमा कोरोना भाइरस फैलिएपछि भारत सरकारले उक्त स्थानलाई शिल्ड गरी खाली गरेको थियो । २२ मार्चमा तबलिगी जमातको निजामुद्दीनस्थित मुख्यालयको पाँच तल्ले भवनबाट समुदायका मानिसहरुलाई निकालेर क्वारेन्टाइनमा राख्दै चेकजाँच गरेको थियो ।
चेकजाँचका क्रममा सयौं संक्रमित भेटिएका थिए । भारतमा फैलिएको कोरोना भाइरसको संक्रमणमध्ये आधा तबलिगी जमातको भेलासँग सम्बन्धित भएको त्यहाँका सञ्चारमाध्यमहरुले उल्लेख गरिरहेका छन् । भेलामा सहभागीहरु विभिन्न देशका थिए । त्यसमध्ये नेपाली र भारतीय पनि थिए । कतिपय क्वारेन्टाइनमा बस्नुपर्ने भन्दै भागेका थिए । उनीहरु नेपाल समेत आइपुगेको बुझिएको छ । लकडाउनको बखत खुल्ला सीमाको फाइदा उठाएर कतिपय नेपाल प्रवेश गरे । त्यसमध्ये हालै वीरगञ्जको छपकैयामा भेटिएकाहरु पनि हुन् । जसमध्ये तीनजना कोरोना संक्रमित भएको पुष्टि भइसकेको छ । ३७, ४४ र ५५ वर्षका उनीहरु हप्ता दश दिन अघि नेपाल छिरेको तथ्य खुलेको छ । विश्वस्त स्रोतका अनुसार उनीहरुलाई नेपाल प्रवेश गराएर छपकैयाको मस्जिदमा राखिएको थियो । मस्जिदमा शौचालय पर्याप्त नभएपछि यतिम खाना अर्थात् अनाथालयमा राखिएको थियो ।
यतिम खानामा रहेका उनीहरुमध्ये तीनजनाको कोभिड १९ को टेष्ट पोजेटिभ देखिएपछि गएराति पर्सा प्रहरीले उक्त स्थानलाई नियन्त्रणमा लिई जमातीहरुलाई आइशोलेशनमा राख्न लगिएको छ । संक्रमित तीनजनालाई अस्पतालमा राखिइसकिएको छ ।
नेपालमा कोरोना भाइरसको संक्रमितमध्ये आठजना विदेशबाट आएकाहरु रहेको र एकजनामा विदेशबाट आएकाबाट सरेको अवस्था रहेकोमा तीनजना भारतीय नागरिक नेपालभित्र संक्रमित देखिएपछि घटना लुकाउन खोजियो । उनीहरु लकडाउनका समयमा नेपाल प्रवेश गरेको र तबलिगी जमातका भेलामा सहभागी भएर आएको भएपनि कसरी नेपाल प्रवेश गरे ? भन्ने प्रश्न उठेको छ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले उनीहरु लकडाउन अघि धेरै महिना अघि देखि नेपालमा थिए भनेपनि उनीहरु नेपाल प्रवेश गरेको दुई हप्ताभन्दा कम भएको विश्वस्त स्रोतले जानकारी दिएको छ ।
जमातीहरु निजामुद्दीन भेलामा सहभागी भएकाले पनि खोजीमा थिए । उनीहरुले रोग फैलाउन सक्ने भन्दै भारतमा खोजी भइरहेको थियो । नेपाल प्रवेश गरेर उनीहरुले के कति रोग फैलाए भन्ने टेष्टले देखाउन सक्छ ।
जमातीहरु बस्दै आएको यातिम खानामा ३० भन्दा बढी बालकहरु रहेकाले उनीहरु पनि जोखिमा परेका छन् । वीरगञ्ज महानगरपालिकालाई अहिले बालकहरुको चिन्ता परिसकेको बुझिएको छ । जमातीहरु मस्जिद र यातिम खानामै रहेकाले त्यसबाहिर संक्रमण फैलन खतरा नभएपनि उनीहरु दिल्लीबाट लामो यात्रा गरी वीरञ्ज सम्म आइपुग्दा सम्पर्कमा रहेकाहरु भने जोखिममा हुनसक्छन् ।