Logo

ओभरड्राफ्ट लोनको किस्ता आइतबारै बुझाउनु पर्ने, किस्ता र व्याज लिन बैकहरूले खोले सबै शाखा



काठमाडौँ ३० चैत ।  बैक तथा वित्तीय संस्थाले सबै प्रकारका ऋणको व्याज र किस्ता तिर्ने अवधि नलम्ब्याउने भएका छन्। उनीहरूले निश्चित प्रकारका ऋणको मात्रै किस्ता र व्याज तर्ने अवधि लम्बाएको बताएका हुन्।

‘राष्ट्र बैकको निर्देशनमा निश्चित प्रकारको ऋणलाई मात्र किस्ता र व्याज तिर्ने भनिएको छ। अन्य ऋणीले तोकिएको समयमै किस्ता र व्याज तिर्नु पर्छ’, विकास बैक एसोसिएसनका अध्यक्ष तथा गरिमा विकास बैकका प्रमुख कार्यकारी अधिकृत गोविन्द ढकालले भने। बैङ्क तथा वित्तीय संस्थाहरूले प्रवाह गरेका केही कर्जाको किस्ता तिर्ने अवधि ३ महिना थप भए पनि कतिपय कर्जाको किस्ता भने चैत मसान्तमै बुझाउनुपर्ने उनको जिकिर छ।

राष्ट्र बैङ्कले ल्याएको राहत प्याकेजमा कर्जाको किस्ता तिर्ने अवधि असार मसान्तसम्मलाई थप गरिएको थियो। यही बुझाइको आधारमा सबै प्रकारका ऋणीको ऋण तिर्ने अवधि असारसम्मै रहने बुझाइ थियो। तर बैकहरूले अन्य प्रकारका ऋणीलाई किस्ता तिर्न ताकेता गरेपछि ऋणीहरू झस्किएका छन्।

मार्जिन प्रवृत्तिको कर्जा, ओभरड्राफ्ट प्रवृत्तिको कर्जा लिने ऋणीले चैतमसान्तमा बुझाउनु पर्ने कर्जाको सावा र व्याज तोकिएकै समयमा तिर्नु पर्ने ढकालले बताए। तर बैकहरूले उनीहरूलाई थोरै सहुलियत भने दिएको ढकालको भनाइ छ। बैङ्क तथा वित्तीय संस्थाहरूले ऋणीको सहजताको लागि अहिले फोन, इमेल तथा भाइबरबाट ऋण नवीकरण गर्न आग्रह गर्ने ऋणीहरूको कर्जा समेत नवीकरण गरिरहेका छन्। तर नवीकरणको लागि आग्रह नगरेका कतिपय ऋणीहरू भने चैत मसान्तमा ऋणको किस्ता नबुझाउँदा जरिवानामा पर्नेछन्।

राष्ट्र बैङ्कको निर्देशनअनुसार घर, गाडी जस्ता क्षेत्रहरूमा प्रवाह गरिएको कर्जाको किस्ता तिर्ने अवधि ३ महिना थप भएको ढकालको भनाइ छ। यसको मतलब शेयर लगानीकर्ताहरूले लिएको कर्जाको सावा र ब्याज पनि चैत मसान्तमै तिर्नुपर्ने हुन्छ। केन्द्रीय बैकले छुट्टै निर्देशन दिए छुट हुने अन्यथा छुट नहुने एसोसिएसनको भनाइ छ। ‘केन्द्रीय बैकले छुट्टै निर्देशन दिए छुट हुन्छ अन्यथा छुट हुँदैन’, ढकालले भने।

ऋणीहरूलाई किस्ता व्याज तिर्नका लागि सजिलो होस् भन्नकै लागि गएको तीन दिन यता सबै विकास बैकहरूका शाखा खुल्ला रहेको ढकालले बताए। बैकले यति बेला किस्ता लिने, व्याज लिने, रोकिएका चेक क्लियर गरिदिने, नयाँ ऋणको माग आएमा त्यसलाई समेत अघि बढाइरहेको ढकालले बताए। अब त्यस्तै परिस्थिति आए मात्रै बैकका सेवा बन्द हुनेछन्। नभए अब सब विकास बैकले नियमित सबै सेवा प्रवाह गर्ने ढकालको भनाइ छ। ‘त्यस्तो कुनै परिस्थिति बाहेक विकास बैकका सबै नियमित सेवा सुचारु अब हुन्छन्’, ढकालले भने।

यता आइतबारदेखी वाणिज्य बैंकहरुले समेत आफ्ना सबै शाखा कार्यालय खोलेर कर्जाको किस्ता सङ्कलन गरिरहेका छन्।मेरोलागानीबाट



प्रतिक्रिया दिनुहोस्