Logo

नेपालको आर्थिक वृद्धिदर २.८ प्रतिशतमा सीमित हुने, दक्षिण एशियाको ४० वर्षयताकै सुस्त



काठमाडौँ, ३० चैत  : कोरोना भाइरसको महामारीले विश्व अर्थव्यवस्था नराम्रोसँग प्रभावित भइरहेका बेला विश्व बैंकले यो वर्ष नेपालको आर्थिक वृद्धि खुम्चने प्रक्षेपण गरेको छ। भाइरसका कारण नेपालको आर्थिक वृद्धिदर सन् २०२० मा २.८ प्रतिशत मात्र हुने विश्व बैंकले प्रक्षेपण गरेको छ।

विश्व बैंकले जारी गरेको ‘दक्षिण एशिया इकोनोमी फोकस’ मा सन् २०२० मा नेपालको आर्थिक वृद्धि १.५ देखि २.८ प्रतिशतसम्ममा सीमित हुने बताइएको छ।

कोभिड–१९ का कारण रेमिटेन्स घट्ने, पर्यटन र व्यापार क्षेत्र ठप्प भएको तथा समग्र अर्थव्यवस्थामा व्यापक अवरोध सिर्जना भएका कारण नेपालको आर्थिक वृद्धिदर १.५ देखि २.८ को बीचमा सीमित हुने प्रक्षेपण रहेको विश्व बैंकले जनाएको छ।

विश्व बैंकले दक्षिण एशिया क्षेत्रमा यो वर्ष आर्थिक वृद्धिदर १.८ देखि २.८ प्रतिशतसम्म सीमित हुने प्रक्षेपण गरेको छ। ६ महिना अगाडि विश्व बैंकले सन् २०२० मा दक्षिण एशियाको आर्थिक वृद्धिदर ६.३ प्रतिशतभन्दा तल रहने अनुमान गरेको थियो। दक्षिण एशियामा अस्थायी आर्थिक संकुचनका साथ यो वर्ष ४० वर्षकै खराब आर्थिक अवस्था देखिने विश्व बैंकले जनाएको छ।

लामो र व्यापक राष्ट्रिय लकडाउनका कारण समग्र दक्षिण एशियाको आर्थिक वृद्धि यो वर्ष ऋणात्मक हुने विश्व बैंकको प्रक्षेपण छ।

दक्षिण एशियाका प्रत्येक देशमा तीव्र आर्थिक मन्दी आउने, आर्थिक गतिविधि रोकिएसँगै व्यापार ठप्प हुने र वित्तीय तथा बैंकिङ क्षेत्रमा तनाव उत्पन्न हुने विश्व बैंकले जनाएको छ।मेरोलागानी



प्रतिक्रिया दिनुहोस्