Logo

सहमतिको सरकारको कुरा बेमौसमी बाजा हो, यही सरकारले काम गर्नुपर्छ : डा. भट्टराई (भिडियोसहित)



काठमाडौं, ३० चैत्र । समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अहिले राष्ट्रिय सरकार बनाउनुपर्ने कुरा उठाउनु नै बेमौसमको बाजा भएको टिप्पणी गरेका छन् । आइतबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको “कोरोनाको महामारी : प्राईमको खबरदारी” विशेष कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,”अहिले सहमतिको सरकारको कुरा गर्नु गलत हो । हामीसँग बहुमतप्राप्त सरकार छ, यही सरकारले काम गर्नुपर्छ । बरु, सरकारले आफ्ना सबै संयन्त्र प्रयोग गरेर कोरोनाविरुद्धको लडाईमा अघि बढोस । हामी प्रतिपक्षीमा बस्नेहरुले सहयोग गर्ने हो । हामी खबरदारी गर्छौं । सहमतिको सरकार बेमौसमीको बाजा हो ।”

उनले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोरोनाविरुद्ध लड्न सबै दल सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउनुपर्ने माग गरेकाबारे त्यो नेकपाभित्रको आन्तरिक कुरा भएको भन्दै कुनै प्रतिक्रिया दिएनन् । उनले भने,”त्यो उहाँहरुको निजी कुरा हो । आन्तरिक कुरा हो । नेकपाको आन्तरिक बैठकको कुरा हो । बहुमतप्राप्त पार्टीले सरकार चलाउने हो । विपक्षीले खबरदारी गर्ने हो ।”

सरकारले गलत गर्दा त्यसको जवाफ जनताले चुनावमार्फत दिने पनि उनले सचेत गराए । वर्तमान सरकार कोरोना रोकथाम तथा नियन्त्रणमा सुरुमा सचेत नएको समेत उनले गुनासो पोखे । उनले भने,”यो सरकार चार महिनामा तीन महिना कानमा तेल हालेर बस्यो । त्यहीभएर सरकारले काम गर्न सकेन् । अहिले लकडाउनको कारण जनता भोकभोकै बसेका छन् । अर्को चुनावमा जनताले सरकारलाई जवाफ दिन्छन् ।”

नेता भट्टराईले वर्तमान सरकार असफल भएको बताउँदै भने,”सरकार असफल भएको कुरा त हामीले भनिरहेका छौं । यस्तो विषम परिस्थितिमा लकडाउन पालना गर्नुपर्छ । सामाजिक दूरी कायम राखेर बस्नुपर्छ । बाँकी कुरा जनताले भोलि फैसला गर्छन् ।”

जनता काठमाडौंबाट हिँडेर आ-आफ्नो जिल्ला फर्किरहेका छन् ? उनीहरुको लागि केही व्यवस्था गर्न सकिँदैन भनेर पत्रकार धमलाले सोधेको प्रश्नमा उनले भने-“हो, यो दुःखद् अवस्था हो । लकडाउनका कारण अलपत्र बसेकाहरुको लागि खानाको व्यवस्था राज्यले गर्नुपर्छ । देशभरिका विपन्नहरुको लागि उचित राहतको व्यवस्था गर्नुपर्छ । यो काम स्थानीय निर्वाचित जनप्रतिनिधिले गर्नुपर्छ । विपन्नको पहिचान गर्न नागरिकले सहयो गर्नुपर्छ । राहतको लागि पैसाको व्यवस्थापन केन्द्र सरकारले गर्नुपर्छ ।”

उनले नेपालमा अहिलेसम्म त्यति ठूलो संख्यामा कोरोना नफैलिएको बताउँदै अझैपनि खतरा भने नटरेको स्पष्ट पारे । उनले भने,”भारतसँग खुल्ला सिमाना छ । भारतमा फैलिँदै गयो भने यतातिर पनि आउन सक्छ । सरकारले स्वास्थ्य परीक्षण गर्ने कामलाई तिव्रता दिनुपर्छ । र, यो लकडाउनको बेलामा विपन्न परिवारको लागि उचित व्यवस्था गर्नुपर्छ ।”

उनले सरकारले लगाएको लकडाउन अझै केही समय लम्ब्याउनुपर्ने धारणा राखे । तर, लकडाउनमात्रै समस्याको समाधान नभएको उनको जिकिर छ । उनले भने, “अहिले बाली भित्र्याउने बेला पनि हो । ढोका बन्द गरेर घरभित्रमात्रै बस्न भन्नुहुँदैन् । बरु, सरकारले मेशिनहरुको प्रयोग गरेर बाली भित्र्याउने नीति ल्याउनुपर्छ । मैले लकडाउन खुकुलो बनाउनुपर्छ भनेको होईन, बरु यसको व्यवस्थापन गर्नुपर्छ भनेको हो ।”

उनले आफूहरुले सरकारलाई के के गर्ने ? भनेर सुझाव दिईसकेको पनि जानकारी दिए । उनले भने,”कोरोना महामारीविरुद्ध सार्वजनिक पहल भनेर विभिन्न क्षेत्रका विज्ञहरु भएर लिखित सुझाव दिएका छौं । जानकारी गराएका छौं । मैले त प्रधानमन्त्रीको सचिवालयलाई फोन गरेर भनेको छु । उच्चस्तरीय समन्वय समितिका संयोजक उपप्रधानमन्त्रीसँग पनि कुरा गरेको छु ।”

कोरोनाको कारण विश्व अर्थतन्त्रमा ठूलो असर परेको भन्दै त्यसबाट नेपाल पनि अछुतो नहुने उनको तर्क छ । उनले थपे,”विश्व बैंकले जारी गरेको रिपोर्टअनुसार दक्षिण एशियामा आर्थिक मन्दी आउन सक्छ भनेको छ । लाखौंको रोजगारी जान सक्छ भनिएको छ । हाम्रो त श्रम निर्यात आधारित अर्थतन्त्र भएकोले विदेशमा रहेका नेपालीहरु पनि बेरोजगार हुने खतरा छ । त्यसैले असर पर्छ ।”

पत्रकार धमलाले कोरोनाको संकटबाट नेपाल कसरी बच्न सक्छ ? भनेर सोधेको प्रश्नमा नेता भट्टराईले पहिलो कुरा त कोरोनाको परीक्षण व्यापक रुपमा गर्नुपर्ने बताए । उनले भने-“दैनिक दश हजारदेखि बिस हजारसम्मको परीक्षण गर्नुपर्छ । अर्को कुरा, यो लडाई लड्न पहिलो पँक्तिमा खटिने स्वास्थ्यकर्मीहरुलाई विेशष सेवा तथा सुविधा दिनुपर्छ । र, विपन्न नागरिकलाई राहत दिने व्यवस्था गर्नुपर्छ ।”

सरकारले अब विदेशबाट नेपाल फर्कने श्रमिकहरुको लागि स्वदेशमै रोजगारीको व्यवस्था गर्नतर्फ पनि ध्यान दिनुपर्ने उनको तर्क छ । नेपालले पनि आफ्नो अवस्था र स्थिति हेरेर लकडाउन लम्ब्याउनुपर्ने तर्क गरे । उनले भने,”भारतले विभिन्न प्रदेशमा लकडाउनको विशेष व्यवस्था गरेको छ । हाम्रो नेपालले पनि आफ्नो स्थिति हेरेर अपनाउनुपर्छ । हामीबीच खुल्ला सीमा भएकोले भारत र हाम्रोबीचमा तालमेल हुनुपर्छ ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot