काठमाडौं, ३० चैत्र । नेपाल-भारत महिला मैत्री समाजले कोरोना भाइरस (कोभिड-१९) को नियन्त्रण, रोकथाम तथा उपचारको लागि २ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतसमक्ष आवश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । समाजकी अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य चन्दा चौधरीले समाजले उक्त सामग्री आज (आइतबार) मुख्यमन्त्री राउतलाई हस्तान्तरण गरेको जनाएकी छिन् ।
उनले यसबारेमा जानकारी दिँदै आफ्नो सामाजिक सञ्जाल फेशबुकमा लेखेकी छिन्,”महामारीको रुपमा आएको कोरोना भाइरस ९कोभिड(१९० नियन्त्रण रोकथाम तथा उपचारका लागि नेपाल भारत महिला मैत्री समाजले आज प्रदेश २ का मुख्यमन्त्री मा। लालबाबु राउतजी लाई आबस्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरियो। हस्तानान्तरण गरिएका सामग्रीहरु आबस्यक ठाउँ मा पुग्ने छ भन्ने मा हामी विश्वस्त छौं। प्रदेश सरकारलाई हस्तानान्तरण गरिएको सामग्रीको डिटेल देहाय बमोजिम रहेको छ।”
उनकाअनुसार समाजले हस्तान्तरण गरेका सामग्रीहरुमा पिपिई-१५० थान, ग्लोब्स-४२५०, पाँच सय मिलिलिटरको सेनिटाइजर-८४ बोतल, स्प्रे टैंक-१० र सर्जिकल मास्क २००० थान रहेका छन् । राजपा नेपालकी महामन्त्रीसमेत रहेकी सांसद चौधरीले कोभिड-१९ संग लड्न नेपाल-भारत महिलामैत्री समाजले हरसम्भव सहयोग गर्ने प्रतिबद्धता जनाएकी छिन् । रिपोर्टर्स नेपाल डटकमसँगको कुराकानीमा सांसद चौधरीले भनिन्-“यो महामारी संग लड्न हामी सबैले आफ्नो स्तर बाट सहयोग गर्न अग्रसर हुनुपर्छ।”
तस्विर : सांसद चौधरीको फेशबुकबाट साभार