Logo

संसदीय विकास कोष कोरोनाविरुद्ध लगाउँ



काठमाडौँ, १ वैशाख । सांसदले पाउँदै आएको संसदीय क्षेत्र विकास कोषको रकम कोरोना भाइरस (कोभिड–१९ ) रोकथाम र नियन्त्रण गर्न खडा गरिएको राहत कोषमा जम्मा गर्ने सुझाव राजनीतिक दलका नेताबाट आउन थालेको छ ।

ती क्षेत्रलाई राहत प्रदान गर्न संसदीय विकास कोषको रकम प्रयोग गर्न नेताले सरकारलाई सुझाव दिएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले कोभिड–१९ को सङ्कट निवारणका लागि यो कोषको रकम खर्च गर्नुपर्ने बताएको छ । उनले कोषको रकम निकै कम खर्च भएको हुनाले यसलाई कोभिड–१९ कोषमा राख्न सुझाव दिँदै अबदेखि यो शीर्षकमा बजेट नै नराख्न पनि सुझाव दिएको छ ।

नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले कोरोना भाइरस विरुद्धको लडाइँ जित्न आवश्यक सबै प्रयत्न सरकारले गर्नुपर्ने बताएको छ । उनले आवश्यक प¥यो भने संसदीय विकास कोषको रकम पनि कोरोना भाइरस रोकथामका लागि प्रयोग गर्नुपर्ने बताएको छ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले सङ्घीय र प्रादेशिक संसदीय कोषको रकमलाई सम्बन्धित संसदीय क्षेत्रमा रहेको स्थानीय तह र वडा मार्फत सर्वदलीय संयन्त्र बनाएर कोरोना विरुद्धको सङ्घर्षमा खर्च गर्न सरकारलाई आग्रह गरेको छ ।

समाजवादी पार्टी संसदीय दल प्रमुख सचेतक उमाशङ्कर अरगरियाले पनि संसदीय विकास कोषको रकम कोरोना भाइरस विरुद्धको सङ्घर्षमा खर्च गर्न सरकारलाई आग्रह गरेको छ । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्

Screenshot