Logo

वैकल्पिक विधिको अध्ययन सुरु



काठमाडौँ, १ वैशाख । कोरोना भाइरस (कोभिड–१९) को जोखिम न्यून गर्दै विश्वविद्यालय तथा विद्यालय तहको पठनपाठन कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा विज्ञले अनुसन्धान सुरु गरेका छन् । सङ्क्रमणको अवस्थाकै बीचमा पनि अध्ययन अध्यापन कार्य कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा विज्ञका बीच अध्ययन गर्न छलफल सुरु भएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले नेपाल खुला विश्वविद्यालयका उपकुलपति प्रा.डा. लेखनाथ शर्माको संयोजकत्वमा हालै गठन गर्नुभएको शिक्षण विधि तथा विकल्प उपसमितिले यसबारेमा अध्ययन अघि बढाएको हो । कोरोनाको सङ्क्रमणका बारेमा हाल कुनै अनुमान नै गर्न नसकिने र यसको प्रभाव लामो समयसम्म पर्ने अवस्थामा विद्यार्थीको पठनपाठन कसरी अगाडि बढाउने तथा त्यसको सम्भाव्यता कस्तो हुन्छ भन्ने विषयमा उपसमितिले अध्ययन गर्न थालेको छ । सो उपसमितिलाई कोभिड–शैक्षिक क्यालेन्डर, अनलाइन कक्षा सञ्चालन, प्रयोगात्मक अभ्यास, पाठ्यक्रम, तालिम, परीक्षा सञ्चालन र निरीक्षण लगायतका योजना बनाउने र मन्त्रालयलाई सुझाव दिने जिम्मेवारी दिइएको छ ।

उपसमितिका संयोजक तथा खुला विश्वविद्यालयका उपकुलपति शर्माले सङ्कटको यस घडीको व्यवस्थापन गर्दै समग्र शैक्षिक क्यालेन्डरकै बारेमा अध्ययन गरिने जानकारी दिए । सरकारबाट जारी गरिएको बन्दाबन्दी (लकडाउन) तथा सामाजिक दूरी कायम गर्ने विषय कति समयसम्म रहन्छ भन्ने आधारमा शैक्षिक क्यालेन्डर बनाउनुपर्ने अवस्था रहेको उनको भनाइ छ । विभिन्न विश्वविद्यालयका पदाधिकारी, शिक्षा मन्त्रालय तथा राष्ट्रिय परीक्षा बोर्ड लगायतका पदाधिकारी सम्मिलित सो उपसमितिले झन्डै एक महिनाभित्र मन्त्रालयलाई सुझाव दिने तयारी गरेको छ ।

कोरोनाको सङ्क्रमणले वैशाख महिनासम्म विद्यालय तहका विद्यार्थीलाई खासै असर नगर्ने भए पनि विश्वविद्यालयमा वार्षिक तथा सेमेस्टर प्रणालीमा अध्ययन गर्ने विद्यार्थीलाई भने धेरै समस्या पार्ने देखिएको उनले जनाएको छ । साथै विश्वविद्यालय तहमा केही विद्यार्थीको परीक्षा रोकिएको, केही नयाँ तहमा भर्ना गर्ने बेला भएकाले क्यालेन्डरका विषयमा एक महिनाभित्र एक खालको खाका बनाउनुपर्ने अवस्था रहेको उनको भनाइ छ । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्

Screenshot